उम्मेदवार समर्थक जुटाउन व्यस्त रास्वपा महाधिवेशनको व्यवस्थापनमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सार्वजनिक कार्यतालिका प्रभावित भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन नसकेपछि महाधिवेशन व्यवस्थापन र समयपालनबारे प्रश्न उठ्न थालेका छन् ।

पार्टी नेतृत्वबीच नयाँ नेतृत्व चयनका विषयमा सहमति खोज्ने प्रयास जारी रहेकाले बन्दसत्र निर्धारित समयमा सुरु हुन नसकेको जनाइएको छ । महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूका अनुसार शीर्ष तहमा पदाधिकारी तथा केन्द्रीय सदस्य चयनबारे छलफल लम्बिँदा कार्यतालिका प्रभावित भएको हो ।

रास्वपाले स्थापना कालदेखि नै अनुशासन, समयपालन र संस्थागत संस्कृतिलाई आफ्नो प्रमुख राजनीतिक विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पहिलो महाधिवेशनकै क्रममा सार्वजनिक गरिएको कार्यतालिका कार्यान्वयन हुन नसक्दा पार्टीभित्र र बाहिर चासो बढेको छ ।

यसैबीच नेतृत्व चयन प्रक्रियाका लागि उम्मेदवारी दर्ता गर्न चाहने आकांक्षीहरू समर्थक जुटाउन व्यस्त देखिएका छन् । महाधिवेशनको निर्वाचन कार्यविधिअनुसार उम्मेदवार बन्न एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ । यही व्यवस्थाका कारण विभिन्न पदका आकांक्षीहरू प्रतिनिधिहरूसँग भेटघाट र समर्थन जुटाउने अभियानमा सक्रिय भएका छन् ।

महाधिवेशनस्थल वरपर सोमबार बिहानैदेखि उम्मेदवार बन्न इच्छुक प्रतिनिधिहरू समर्थकको खोजीमा दौडधुप गरिरहेको दृश्य देखिन्थ्यो । देशभरबाट आएका प्रतिनिधिहरूमध्ये धेरैजना एकअर्कासँग प्रत्यक्ष रूपमा परिचित नभएकाले आवश्यक समर्थक जुटाउन अपेक्षाभन्दा बढी समय लागेको पाल्पाका नेता सुमन गैरेको भनाइ छ ।

कतिपय प्रतिनिधिहरूले समर्थकको संख्या अत्यधिक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार पहिलो महाधिवेशन भएकाले देशभरबाट आएका प्रतिनिधिबीच पर्याप्त चिनजान नभएको अवस्थामा २१ जना समर्थकको व्यवस्था व्यवहारिक नभएको गुनासो गरेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरूबीच उत्साह देखिए पनि कार्यतालिकामा आएको ढिलाइ र उम्मेदवारी प्रक्रियामा देखिएको जटिलताले व्यवस्थापन पक्षमाथि प्रश्न खडा भएको रुपन्देहीका एक प्रतिनिधिले बताए । यद्यपि पार्टी नेतृत्वले सहमतिका आधारमा नेतृत्व चयनलाई प्राथमिकता दिइएकाले केही कार्यक्रम प्रभावित भएको जनाएको छ । नेता लिमा अधिकारीका अनुसार अब केही समयमै बन्दसत्र सुरु हुन्छ ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट नयाँ केन्द्रीय समिति तथा पदाधिकारी चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र नीति सम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।

Share News