काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढ्दै गएका बेला याडियाले आफ्नो नयाँ इलेक्ट्रिक बाइक कीनेस सार्वजनिक गरेको छ ।
बजारमा इलेक्ट्रिक स्कुटरहरूको उपस्थिति बाक्लो भए पनि बाइक खोज्ने ग्राहकहरूको मागलाई सम्बोधन गर्न कम्पनीले यो नयाँ मोडल भित्र्याएको जनाएको छ ।
विशेष गरी युवा पुस्ता र थ्रिल चाहने राइडरहरूलाई लक्षित गरिएको कम्पनीको भनाइ छ । बाइकको सुरुवाती बजार मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

उत्कृष्ट डिजाइन र ग्लोबल क्वालिटीका कारण यो बाइक बजारमा उपलब्ध अन्य बाइकहरू भन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ ।
प्राविधिक विशेषताका हिसाबले याडिया कीनेसमा ११ किलोवाटको शक्तिशाली मिड-ड्राइभ मोटर र डुअल एनएमसी ब्याट्री जडान गरिएको छ ।
यसमा रहेको एडभान्स्ड बीएमएस सिस्टमसहितको डुअल ब्याट्रीले पावर राइडिङ गर्दा पनि ब्याट्री छिटो ड्रेनेज (कम) हुन दिँदैन ।
कम्पनीका अनुसार बाइकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यसमा ४० भन्दा बढी सुरक्षा फिचर्सहरू र विभिन्न स्मार्ट प्रविधिहरू समावेश गरिएको छ ।
नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै यसमा अपसाइड डाउन सस्पेन्सन दिइएको छ । जसले अफरोडिङ र बाइक ह्यान्डलिङलाई निकै सजिलो, आरामदायी र स्मुथ बनाउँछ ।
कम्पनीका जनरल म्यानेजर सुरेन्द्र शाहीका अनुसार यो बाइक विशेष गरी काठमाडौं उपत्यकाका लागि निकै उपयुक्त छ ।

यो बाइक धेरै लामो दुरीका लागि भन्दा पनि बढी पावर, पर्फर्मेन्स र युनिकनेस खोज्ने चालकहरूका लागि तयार पारिएको म्यानेजर शाहीले बताए ।
कम्पनीले भविष्यमा २०० देखि ३०० किलोमिटर सम्मको रेन्ज दिने अन्य मोडलहरू पनि नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।
ग्राहकको विश्वास र ढुक्कताका लागि कम्पनीले यस बाइकको ब्याट्रीमा २ वर्ष वा ३० हजार किलोमिटर र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी समेत उपलब्ध गराएको छ ।

