प्रेस काउन्सिलद्वारा विकास मिडियाको अनुगमन

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा सञ्चारमाध्यमहरूको सम्पादकीय अभ्यासको मूल्याङ्कन गर्ने उद्देश्यले विकास मिडिया प्रालिको अनुगमन गरेको छ । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको नेतृत्वमा रहेको टोलीले विकास मिडियाद्वारा सञ्चालित देशविकास साप्ताहिक र विकासन्युज डटकमको कार्यालयमा पुगेर स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा काउन्सिलको टोलीले सञ्चारमाध्यमको सम्पादकीय नीति, समाचार सम्पादन प्रक्रिया, पत्रकार आचारसंहिताको पालना, समाचार सामग्रीको विश्वसनीयता तथा जिम्मेवार पत्रकारिताका अभ्यासबारे जानकारी लिएको थियो । साथै, समाचार सम्प्रेषणका क्रममा अपनाइएका मापदण्ड, तथ्य परीक्षणको प्रक्रिया, सम्पादकीय उत्तरदायित्व तथा डिजिटल पत्रकारिताका अभ्यासबारे समेत छलफल भएको थियो । 

null

विकास मिडियाका अध्यक्ष तथा प्रधान सम्पादकले संस्थाद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गरिरहेको बताए । उनले आगामी दिनमा पनि प्रेस काउन्सिल नेपालबाट जारी आचारसंहिता र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी प्रेस काउन्सिल नेपालसँग नियमित सम्पर्कमा छौं । हाम्रा पत्रिका र अनलाइन नियमित रूपमा वर्गीकरणमा परिरहेका छन् । काउन्सिलबाट जारी भएका सबै निर्देशनको पालना गर्दै तथ्यमा आधारित र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘तथ्यमा आधारित समाचार सम्प्रेषणकै कारण विकास मिडिया हालसम्म कुनै पनि कारबाहीमा परेको छैन ।’

null

त्यसैगरी, विकासन्युज डटकमका सम्पादक सन्तोष रोकायाले डिजिटल पत्रकारिताको बढ्दो प्रभावसँगै विश्वसनीय, तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषणको आवश्यकता अझ बढेको बताए । उनले प्रेस काउन्सिल नेपालबाट जारी भएका निर्देशन तथा मापदण्डहरूको पालना गर्दै सन्तुलित, जनउत्तरदायी र व्यावसायिक पत्रकारितालाई संस्थाले प्राथमिकता दिएको जानकारी दिए ।

उनले प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पनि जिम्मेवारीपूर्वक अघि बढाइएको उल्लेख गर्दै एआईको प्रयोग गरिएका सामग्रीमा त्यसबारे स्पष्ट रूपमा खुलाउने अभ्यास गरिएको बताए । पाठकको विश्वास कायम राख्न तथ्य परीक्षण, स्रोतको पुष्टि र सम्पादकीय उत्तरदायित्वलाई विशेष महत्व दिइएको उनको भनाइ छ । 

अनुगमन टोलीमा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, शाखा अधिकृत विष्णु शर्मा लम्साल तथा सहायक हजारी सिंह महताको सहभागिता रहेको थियो । वरिष्ठ प्रशासकीय अधिकृत खनालले प्रेस काउन्सिलले सञ्चारमाध्यमहरूको स्थलगत अनुगमन अभियान सुरु गरेको जानकारी दिँदै काठमाडौं उपत्यकाभित्र पहिलो पटक विकास मिडियाबाट उक्त अभियानको सुरुआत गरिएको बताए । उनले यस्ता अनुगमनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र व्यावसायिक पत्रकारिताको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अनुगमनका क्रममा मुख्य अधिकृत भुसालले विकास मिडियाबाट प्रकाशित समाचारका सम्बन्धमा हालसम्म प्रेस काउन्सिल नेपालमा कुनै उजुरी प्राप्त नभएको जानकारी दिए । उनले आगामी दिनमा पनि तथ्यमा आधारित, निष्पक्ष, जिम्मेवार र आचारसंहिताअनुकूल पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै विश्वसनीय पत्रकारिताले सञ्चारमाध्यमप्रतिको जनविश्वास अझ सुदृढ बनाउने धारणा व्यक्त गरे ।

भुसालले समाचार उत्पादनमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग, त्यसको पारदर्शिता तथा जिम्मेवार प्रयोगबारे पनि चासो व्यक्त गरेका थिए । उनले नयाँ प्रविधिको प्रयोगसँगै पत्रकारिताको नैतिक मापदण्ड र सम्पादकीय उत्तरदायित्वलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

nullअनुगमनको अन्त्यमा मुख्य अधिकृत भुसालले विकासन्युज डटकमका सम्पादक सन्तोष रोकायालाई प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको पत्रकार आचारसंहिता हस्तान्तरण गरेका थिए ।

Share News