पाँच वर्षयताकै उच्च नतिजा, उत्कृष्ट व्यवस्थापन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गरेको छ । गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार ५ गते शुक्रबार सार्वजनिक गरिएको हो । कक्षा १२ को नतिजा यति छोटो अवधिमा सार्वजनिक भएको सम्भवतः पहिलो पटक हो ।

यस वर्षको नतिजाअनुसार कुल ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । जसमा नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिक तर्फ ४२.३८ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै स्नातक तह अध्ययनका लागि योग्यता हासिल गरेका छन् ।

गत वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थीमात्र ग्रेडेड भएका थिए । त्यसको तुलनामा यस वर्ष नियमिततर्फको उत्तीर्ण दर ८.५८ प्रतिशत बिन्दुले वृद्धि भएको छ । यसले कक्षा १२ को नतिजामा उल्लेखनीय सुधार देखिएको संकेत गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजामा आएको सुधारलाई विद्यार्थी र शिक्षक दुवैको मेहनतको प्रतिफलका रूपमा व्याख्या गरेको छ । बोर्डका अनुसार शिक्षकले प्रभावकारी रूपमा अध्यापन गरेका र विद्यार्थीले पनि अध्ययनमा बढी मेहनत गरेकाले नतिजामा सकारात्मक सुधार देखिएको हो ।

समयमै नतिजा प्रकाशन र उत्तीर्ण दरमा भएको उल्लेख्य वृद्धिले विद्यालय शिक्षा प्रणालीप्रति आशा जगाएको बोर्डको विश्वास छ ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल बोर्डको आन्तरिक तयारीले छोटो समयमा नतिजा निकाल्न सफल भएको बताउँछन् । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विगतभन्दा नतिजा छोटो समयमा सार्वजनिक गर्न सक्नुलाई शैक्षिक सुधारको फड्कोको रुपमा हेर्छन् । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले  नतिजा छिटो सार्वजनिक गरिनुलाई सरकारको सुशासनप्रतिको  दृढ प्रतिबद्धता रहेको बताए । उनले शैक्षिक क्यालेण्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।    
                 
कति थिए परीक्षामा सहभागी ?

यो वर्ष ४ लाख १८ हजार १ सय ७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ र आंशिक तर्फ ८५ हजार ९ सय २९ विद्यार्थी थिए । परीक्षामा ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको थियो । 

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ २ लाख ३१ हजार ७ सय ७० अर्थात् ६९.७५ प्रतिशत ग्रेडेड भएका छन् भने आंशिकतर्फ ३६ हजार ४ सय २० अर्थात् ४२.३८ गरी जम्मा २ लाख ६८ हजार १ सय ९० अर्थात् ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

नतिजाअनुसार सबै भन्दा धेरै २.६१ देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार दुई सय ४९ छ  । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार सात सय ८६, ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार आठ सय २१ रहेको छ भने  २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार पाँच सय ९७, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार तीन सय आठ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या नौ जना रहेको बोर्डले जनाएको छ ।

पछिल्लो पाँच वर्षको पासदर 

पछिल्लो पाँच वर्षको कक्षा १२ को नतिजा हेर्ने हो भने क्रमिक रूपमा सुधार हुँदै गएको छ । २०७९ सालदेखि २०८३ सालसम्मको नतिजा हेर्ने हो भने बर्सेनि विद्यार्थी पास हुने दर बढेको छ । २०७९ सालमा ४८.१ प्रतिशत विद्यार्थी पास भएकोमा २०८३ सम्म आइपुग्दा पासदर प्रतिशत ६४.१३ प्रतिशत पुगेको छ ।

२०८३ सालको कक्षा १२ को नतिजा अघिल्लो वर्ष २०८२ सालको भन्दा ८.५८ ले बढी हो । अघिल्लो वर्ष कक्षा १२ परीक्षामा नियमित तर्फ ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए । २०८२ सालको यो नतिजा अघिल्लो वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी थियो । जबकी २०८१ सालमा ५२.१५ प्रतिशत विद्यार्थी मात्र उच्च शिक्षाका लागि योग्य बनेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अघिल्लो वर्ष ३ लाख ९६ हजार ३ सय ४७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ लाख ४२ हजार ४ सय ६५ जना ग्रेडेड अर्थात् पास भएका थिए । बाँकी १ लाख ५३ हजार ८ सय ८२ विद्यार्थी नन-ग्रेडेड भएका थिए । 

आंशिकतर्फका १ लाख १४ हजार ६ सय ४० विद्यार्थीमध्ये ४१ हजार ८ सय ४० जना अर्थात् ३६.४९ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सार्वजनिक गरेको कक्षा १२ को नतिजामा  ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।  नियमिततर्फ तीन लाख ८५ हजार ६ सय ३२ सहभागी भएकोमा दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका हुन् । त्यस्तै ग्रेड वृद्धितर्फ  ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४ सय ३६ जना उत्तीर्ण भएका थिए । २० जनाको परीक्षा रद्द भएको थियो । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका थिए  ।

यस्तै, २०८० सालको नतिजामा ५१.९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।  भने १ लाख ८२ हजार ९२६ विद्यार्थी नन–ग्रेडेड भएका थिए ।

२०७९ सालको कक्षा १२ को नतिजामा १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड अनुत्तीर्ण भएका थिए  । कुल परीक्षार्थी ३ लाख  ६३ हजार ८ जना मध्ये ५२.०४ प्रतिशत विद्यार्थीले नन् ग्रेड ल्याएका हुन् । परीक्षामा नियमित तर्फ ३ लाख ६३ हजार १ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । 
                
पाँच वर्षमा जीपीएमा फरक

२०८३ सालको कक्षा १२ को नतिजामा सबैभन्दा धेरै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार सात सय ८६ रहेकोमा अघिल्लो वर्ष २०८२ सालमा १३ हजार ५०२ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए ।

यस्तै, २०८१ सालमा ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ५ सय ९१, २०८० मा ६ हजार ९ सय ७६ र २०७९ मा ४ हजार १  सय ७९ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त  गरेका थिए । विद्यार्थीले जीपीए ल्याउने दर पनि पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । 

परीक्षा बोर्डका अनुसार शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने १७ हजार ७८६ जना विद्यार्थी रहेका छन् । त्यस्तै,  ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना, २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५ सय ९७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३ सय ८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ ।

अघिल्लो वर्ष ३.६१ देखि ४.०० सम्मको जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२ जना थिए भने  ५५ हजार ८९६ विद्यार्थीले ३.२१ देखि ३.६० सम्मको जीपीए हासिल गरेका थिए । यस्तै, ६९ हजार ८ सय १२ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेका छन्  । ८ हजार ९६४ विद्यार्थीले २.०१ देखि २.४० सम्मको जीपीए हासिल गरेका छन् भने २३ जना विद्यार्थीले १.६१ देखि २.०० सम्मको जीपीए प्राप्त गरेका छन् ।

२०८१ सालमा ९ हजार ५९१ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन्। त्यसैगरी ४६ हजार ८९३ विद्यार्थीले ३.२१ देखि ३.६०, ७८ हजार ७५० विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए हासिल गरेका छन्। यस्तै, ६१ हजार ३६ विद्यार्थीले २.४१ देखि २.८०, ८ हजार २४० विद्यार्थीले २.०१ देखि २.४० तथा १२ जना विद्यार्थीले १.६१ देखि २.०० सम्मको जीपीए प्राप्त गरेका छन्। कक्षा १२ को नतिजा पछिल्ला तीन वर्षको तुलनामा यस वर्ष सुधारिएको बोर्डले जनाएको छ । 

२०८० सालमा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् । ३८ हजार ९ सय ९९ विद्यार्थीले ३.२१ देखि ३.६०, र ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए हासिल गरेका छन् । यस्तै, ६३ हजार ७७ विद्यार्थीले २.४१ देखि २.८० सम्मको जीपीए प्राप्त गरेका छन् भने ११ हजार ४३८ विद्यार्थीले २.०१ देखि २.४० सम्मको जीपीए हासिल गरेका छन् । त्यसैगरी, १.६१ देखि २.०० सम्मको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४७ रहेको छ ।

२०७९ सालको कक्षा १२ परीक्षामा ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थी ४ हजार १ सय ७९ जना, ३.२१ देखि ३.६० जीपीए ३० हजार १ सय ७ जना,  २.८१ देखि ३.२० जीपीए ६ ५ हजार २ सय ८४ जना २.४१ देखि २.८०  जीपीए ६४ हजार ९३ जना, २.०१ देखि २.४० जीपीए १० हजार ९ सय जना र १.६१ देखि २.०० जीपीए ३५ जनाले ल्याएका थिए ।

Share News