काठमाडौं । विश्वकै पहिलो र एक मात्र ट्रिलियनेयर (खर्बपति) एलन मस्कको नेटवर्थमा पछिल्लो दुई दिनमा भारी गिरावट आएको छ ।
स्पेसएक्सको सेयर मूल्यमा आएको गिरावटका कारण यस्तो भएको हो । यस कम्पनीमा मस्कको करिब ४२ प्रतिशत हिस्सा छ ।
बुधबार उनले ५६.४ अर्ब डलरभन्दा बढी गुमाए भने बिहीबार उनको नेटवर्थमा ३२.१ अर्ब डलरको गिरावट आयो।
यसरी दुई दिनमा उनले ८८.५ अर्ब डलर गुमाए, जुन भारतीय अर्बपति मुकेश अम्बानीको कुल नेटवर्थ (८८.८ अर्ब डलर) को लगभग बराबर हो ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ अब १.२३ ट्रिलियन डलर बाँकी रहेको छ । यस वर्ष उनको नेटवर्थमा ६०८ अर्ब डलरको वृद्धि भएको छ ।
स्पेसएक्सको सेयरमा बिहीबार ३.५६ प्रतिशतको गिरावट आयो । यससँगै कम्पनीको मार्केट क्याप (बजार पुँजीकरण) २.४३७ ट्रिलियन डलर कायम भएको छ ।
विश्वका सबैभन्दा मूल्यवान् कम्पनीहरूको सूचीमा स्पेसएक्स छैटौं स्थानमा छ । यसभन्दा अगाडि एनभीडीया, अल्फाबेट, एप्पल, माइक्रोसफ्ट र अमेजन मात्र रहेका छन् ।
को-को छन् शीर्ष १० मा ?
विश्वका धनीहरूको सूचीमा गुगलका सह-संस्थापक ल्यारी पेज ३१४ अर्ब डलरका साथ दोस्रो र उनका साझेदार सर्गेई ब्रिन (२९१ अर्ब डलर) तेस्रो स्थानमा छन् ।
अमेजनका जेफ बेजोस (२९१ अर्ब डलर) चौथो, ल्यारी एलिसन (२३८ अर्ब डलर) पाँचौं, माइकल डेल (२२१ अर्ब डलर) छैटौं, मार्क जुकरबर्ग (२०६ अर्ब डलर) सातौं, जेन्सेन हुवाङ (१७४ अर्ब डलर) आठौं, बर्नार्ड अर्नाल्ट (१६८ अर्ब डलर) नवौं र वारेन बफेट (१४६ अर्ब डलर) दशौं स्थानमा छन् ।
भारत तथा एसियाकै सबैभन्दा धनाढ्य गौतम अडानी ११९ अर्ब डलरको नेटवर्थका साथ यस सूचीको १७औं स्थानमा छन् । अडानी ग्रुपका अध्यक्षको नेटवर्थमा यस वर्ष ३४.९ अर्ब डलरको वृद्धि भएको छ ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८८.८ अर्ब डलरका साथ २५औं स्थानमा छन् । उनको नेटवर्थमा यस वर्ष १८.९ अर्ब डलरको गिरावट आएको छ ।
विश्वकै पहिलो ‘ट्रिलियनियर’ मस्क : मिहिनेतको कमाइ कि नीतिगत होल ?