काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ ।
गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत–सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । यसले गाडी बिक्रीभन्दा बढी ग्राहक अनुभवलाई प्राथमिकता दिने हुन्डाईको दृष्टिकोणलाई प्रस्ट पारेको छ ।
धेरैजसो अटोमोबाइल ब्रान्डहरू बिक्री र शोरुममा केन्द्रित भइरहेका बेला लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिका रूपमा विकास गर्दै आएको छ । ग्राहकलाई गाडी प्रयोगभर भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सेवा केन्द्रहरूको सञ्जाल विस्तार, कर्मचारीको दक्षता अभिवृद्धि र पूर्वाधार आधुनिकीकरणमा निरन्तर लगानी गरिरहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लक्ष्मी हुन्डाईले ग्राहक सेवामा विश्वस्तरीय मापदण्ड कायम गर्दै यस्तो पुरस्कार जित्नु देशकै लागि गौरवको विषय बनेको छ । कम्पनीले आफ्टर–सेल्स सेवालाई छोटो अवधिको व्यापारभन्दा दीर्घकालीन प्रतिबद्धताका रूपमा लिँदै आएको छ ।
कम्पनीका अनुसार यो सफलता सम्पूर्ण टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई पहिलो प्राथमिकतामा राख्ने संस्कृतिको परिणाम हो ।
यस अवसरमा कम्पनीले आफ्ना ग्राहकप्रति अटुट विश्वास र साथका लागि कृतज्ञता व्यक्त गर्दै कर्मचारीहरूको समर्पणको उच्च प्रशंसा गरेको छ । साथै, प्राप्त सम्मानले आगामी दिनमा नेपाली अटो बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्ड स्थापित गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।