काठमाडौं । दिनभर यात्रु बोकेर काठमाडौंका सडकमा गुड्ने एउटा ट्याक्सी रात पर्नासाथ अर्कै यात्रामा निस्कन्थ्यो । गन्तव्य हुन्थे राजधानीका विभिन्न होटल र यात्रु हुन्थे युवतीहरू । बाहिरबाट हेर्दा सामान्य ट्याक्सी सेवा जस्तो देखिने यो गतिविधिको भित्री कथा भने यौन व्यवसायको संगठित सञ्जालसँग जोडिएको प्रहरीले दाबी गरेको छ ।
केही दिनअघि गौशाला क्षेत्रमा प्रहरीले गरेको अपरेसनले यस्तै एउटा सञ्जालको पर्दाफास गरेको छ । रातको समयमा कार र ट्याक्सीमा युवतीहरू राखेर ग्राहक खोजिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा चार पुरुष र १२ युवती छन् ।
प्रहरीका अनुसार सञ्जाल सञ्चालनमा संलग्न व्यक्तिहरूमध्ये सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं-९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका-२ का ३३ वर्षीय विकास भुलन रहेका छन् ।
प्रहरीले युवती ओसारपसारमा प्रयोग गरिएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीको अनुसन्धानले देखाए अनुसार विवेक स्याङ्तान लामो समयदेखि काठमाडौंमा ट्याक्सी चालकका रूपमा काम गर्दै आएका थिए । यात्रु बोक्दै राजधानीको जीवनशैली, मानिसहरूको व्यवहार र रात्रीकालीन गतिविधिबारे उनी परिचित भइसकेका थिए । यही क्रममा उनले केही युवतीहरूसँग सम्पर्क विस्तार गरे र त्यसलाई आम्दानीको अर्को स्रोत बनाउने योजना बुने ।
प्रहरीको दाबी अनुसार स्याङ्तानको समूहले होटलहरूमा युवती उपलब्ध गराउने काम गर्दै आएको थियो । ग्राहक खोज्ने, युवतीको तस्बीर र भिडियो पठाउने, मूल्य तय गर्ने र होटलसम्म पुर्याउने काम उनीहरूको नियमित गतिविधि बन्दै गयो ।
अनुसन्धानबाट खुलेअनुसार ग्राहकहरूमध्ये विदेश जाने–आउने नेपाली र भारतीय पर्यटकको संख्या उल्लेख्य थियो । ग्राहकको रोजाइअनुसार युवती पठाइने, मन नपरेमा फिर्ता बोलाएर अर्की युवती पठाइने व्यवस्था समेत मिलाइएको प्रहरीको भनाइ छ ।
सामाजिक सञ्जाल र विशेषगरी ह्वाट्सएप उनीहरूको कुराकानी र सेटिङको प्रमुख माध्यम बनेको थियो । त्यहीँ तस्बिर आदानप्रदान हुन्थ्यो, त्यहीँ मूल्यमा मोलमोलाइ चल्थ्यो ।
प्रहरीका अनुसार एउटा ‘डिल’ को न्यूनतम रकम १५ हजार रुपैयाँबाट सुरु हुन्थ्यो । तर, ग्राहकबाट लिइएको सम्पूर्ण रकम युवतीसम्म पुग्दैनथ्यो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार समूहले ग्राहकसँग जति रकम लिए पनि अधिकांश युवतीलाई पाँच हजार रुपैयाँ मात्रै दिने गरेको देखिएको छ ।
प्रहरीले बरामद गरेका मोबाइल फोनहरूमा यौन कारोबार सम्बन्धी संवाद, रकमको मोलमोलाई र ग्राहक व्यवस्थापनका विवरण भेटिएको जनाएको छ । केही युवतीहरू काठमाडौंमा अध्ययनका लागि बसेका र केहीलाई बाहिरी जिल्लाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ट्याक्सी चालक, युवती र केही होटलबीच पहिलेदेखिको सम्पर्क रहेको देखिएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा ट्याक्सी चालक, युवती र होटलबीच समन्वय रहेको देखिएको छ । ग्राहक भेटाउने, मोलमोलाई गर्ने र होटलसम्म पु¥याउने प्रक्रिया संगठित ढंगले सञ्चालन भएको संकेत भेटिएका छन्,’ भट्टराईले भने ।
प्रहरीका अनुसार ग्राहक र युवतीबीच प्रत्यक्ष भेटपछि अन्तिम मूल्य निर्धारण हुने गरेको थियो । अनुसन्धानबाट एक युवतीका लागि तीन हजारदेखि २० हजार रुपैयाँसम्म शुल्क लिने गरिएको तथ्य समेत खुलेको छ ।
हाल पक्राउ परेका सबैमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा अन्य कसुर आकर्षित हुने सम्भावना रहेको प्रहरीको भनाइ छ ।
राजधानीका चम्किला होटल, रातको सहर र सामान्य देखिने ट्याक्सीको यात्राभित्र लुकेको यो सञ्जालले काठमाडौंमा अझै पनि विभिन्न स्वरूपमा यौन व्यवसाय सञ्चालन भइरहेको संकेत दिएको छ । अब अनुसन्धानले यो नेटवर्क कति ठूलो थियो र यसमा अरू को-को जोडिएका थिए भन्ने प्रश्नको उत्तर खोजिरहेको छ । नेपाल प्रहरीको अनुसन्धान पनि त्यहीँतर्फ मोडिएको छ ।