काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आकस्मिक स्वास्थ्य सेवासम्बन्धी प्रावधान कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
बोर्डले जारी गरेको पत्रअनुसार आकस्मिक उपचार आवश्यक पर्ने अवस्थामा मात्र बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिनुपर्ने स्पष्ट गरिएको छ । त्यस्ता बिरामीको उपचारका क्रममा आवश्यक परेमा भर्ना वा शल्यक्रिया समेत उपचार पद्धति अनुसार गर्न सकिने व्यवस्था रहेको छ ।
तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाका रूपमा उपचार गरी दाबी पेश गरिएमा त्यस्ता दाबीको भुक्तानी नहुने बोर्डले जनाएको छ । साथै, यस्ता कार्य प्रचलित कानुनअनुसार अघि बढाइने पनि स्पष्ट पारिएको छ ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहका अनुसार उक्त व्यवस्था स्वास्थ्य बीमा प्रणालीको दुरुपयोग रोक्न तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन लागू गरिएको हो ।
साथै, सेवाग्राहीहरूलाई आवश्यक उपचार सेवाका लागि तोकिएको प्रक्रिया पालना गर्न तथा सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन आग्रह गरिएको छ ।
