काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकिङ क्षेत्रका चार छाता संगठनहरूले आपत्ति जनाएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख ३० गते पाण्डेलाई नियन्त्रणमा लिएको प्रसंग उल्लेख गर्दै संघहरूले बैंक तथा वित्तीय संस्थाहरू प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीति–निर्देशनअनुसार सञ्चालन भइरहेको स्पष्ट पारेका छन् । उनीहरूका अनुसार यी संस्थाहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी देशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा कर्जा प्रवाह गर्दै आएका छन् ।
विज्ञप्तिमा ऐनको दफा ५७ अनुसार कर्जा असुली बैंकको नियमित प्रक्रिया भएको र यस्तो कार्य प्रमुख कार्यकारी अधिकृतको दायित्वभित्र पर्ने उल्लेख गरिएको छ । कर्जा असुली प्रक्रियासम्बन्धी विषयमा गरिएको कारबाहीले बैंकको साख र वित्तीय प्रणालीको स्थायित्वमा नकारात्मक असर पर्न सक्ने उनीहरूको दाबी छ ।
संघहरूले बैंकिङ क्षेत्रको विश्वास र प्रमुख कार्यकारी अधिकृतको गरिमालाई ध्यानमा राख्दै ‘सुन अनि थुन’ को सिद्धान्तअनुसार आवश्यक अनुसन्धान गर्नुपर्ने भए पनि पाण्डेलाई थुनामुक्त राखी अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।