काठमाडौं । डोङफेङ मोटर करपोरेसनले दक्षिण अफ्रिकाको बजारमा नयाँ पूर्ण इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो दक्षिण अफ्रिकामा हालसम्म उपलब्ध सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी हो ।
चिनियाँ अटो निर्माता डोङफेङको यो मोडल केही अन्तर्राष्ट्रिय बजारमा ‘भिगो’ नामले परिचित छ । कम्पनीले यसअघि ‘बक्स’ ह्याचब्याक र ‘००७’ प्रिमियम सेडान सार्वजनिक गरिसकेको छ भने नामी भिगो ब्रान्डको तेस्रो मोडल हो ।
यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै भेरियन्टमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क दिइएको छ । यसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्यान्ड तोकिएको छ, जुन दक्षिण अफ्रिकामा उपलब्ध गिली इ५ ईएक्स५ भन्दा करिब २ लाख र्यान्ड कम रहेको बताइएको छ ।
नामी भिगोको आधारभूत भेरियन्टमा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री उपलब्ध छ । चिनियाँ परीक्षण मापदण्डअनुसार यसले एकपटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ भने डब्लूएलटीपी मापदण्डअनुसार करिब ३०० किलोमिटर रेन्ज उपलब्ध हुनेछ । यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने बताइएको छ ।
उच्च स्पेसिफिकेसन भएको अर्को भेरियन्टको मूल्य ५ लाख ७९ हजार र्यान्ड तोकिएको छ । यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री उपलब्ध छ, जसले ४७१ किलोमिटर (सीएलटीसी) वा करिब ३५० किलोमिटर (डब्लूएलटीपी) रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १८ मिनेट मात्र लाग्ने बताइएको छ ।
एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर तथा कर्टेन एयरब्यागसहित ६ वटा एयरब्यागजस्ता सुरक्षा तथा प्रविधिमैत्री सुविधा उपलब्ध छन् । साथै, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेससमेत रहेको छ ।
नामी भिगो कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच रंगमा उपलब्ध हुनेछ ।
डोङफेङ चीनका चार ठूला सरकारी स्वामित्वका अटो कम्पनीमध्ये एक हो । कम्पनीले हालै निसान माेटर करपोरेसनसँग संयुक्त साझेदारी विस्तार गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको विश्वसनीयता अझ बलियो बन्ने अपेक्षा गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वातावरणमैत्री यातायातप्रति बढ्दो आकर्षणका कारण दक्षिण अफ्रिकासहित विश्वभर विद्युतीय सवारीसाधनको माग बढिरहेको छ । यस्तो अवस्थामा कम मूल्यमा उपलब्ध डोङफेङ नामी भिगो दक्षिण अफ्रिकाको ईभी बजारका लागि बजेटमैत्री विकल्प बन्न सक्ने विश्लेषण गरिएको छ ।