दूरसञ्चार सेवा सुधार्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्न र उपभोक्ताका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । 

पछिल्लो समय ग्राहकहरूबाट सेवाको गुणस्तरका विषयमा उजुरीहरू बढ्दै गएपछि प्राधिकरणले यस्तो कदम चालेको हो ।

प्राधिकरणका अनुसार हालका दिनहरूमा तोकिएको मापदण्ड अनुसारको सेवा प्राप्त नभएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

प्राधिकरणको आफ्नै गुनासो व्यवस्थापन प्रणाली (सीएचएस), इमेल तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘हेलो सरकार’ पोर्टलमा समेत दूरसञ्चार सेवाका सम्बन्धमा उजुरीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अनुमतिपत्रप्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई प्रचलित ऐन, नियम, विनियम र कार्यविधिको परिधिभित्र रहेर सेवा प्रवाह गर्न सचेत गराएको छ ।

आम उपभोक्तालाई प्रदान गरिने सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने, उपभोक्ताहरूबाट प्राप्त भएका उजुरी तथा गुनासाहरूलाई यथाशक्य छिटो समाधान गर्ने व्यवस्था मिलाउनुपर्ने,उपभोक्ताको अधिकार र हितलाई ध्यानमा राखी गुणस्तरीय सेवाको सुनिश्चितता गर्नुपर्ने निर्देशन प्राधिकरणले दिएको हो ।

सूचनामा सेवा प्रदायकहरूलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेही बन्न आग्रह गर्दै प्राधिकरणले आफ्नो जिम्मेवारी बमोजिम गुणस्तरीय सेवा प्रवाह नगरेको र प्राधिकरणमा निरन्तर गुनासो प्राप्त भइरहेको खण्डमा कारबाहीको प्रक्रिया अगाडि बढाइनेसमेत चेतावनी दिएको छ ।

Share News