काठमाडौं । १०० वर्ष पुरानो अटोमोवाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) को नयाँ इलेक्ट्रिक एसयूभी 'एमजी एस सिक्स' नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
नेपालका लागि एमजीकोआधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले सोमबार राजधानीमा एक कार्यक्रमबीच 'एमजी एस सिक्स' गाडी अनावरण गरेको हो ।
कार्यक्रममा एमजीको मातृ कम्पनी एसएआइसीका प्रतिनिधि मोहम्मद कासिम र प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनील क्षेत्रीले संयुक्त रूपमा नयाँ गाडीको अनावरण गरेका थिए ।
सन् २०१७ मा स्थापना भएको प्यारामाउन्ट मोटर्सले २०१८ देखि नेपालमा एमजीका गाडीहरू बिक्री गर्दैआएको हो ।

कम्पनीका अनुसार यसअघि एमजी जेडएस ईभीले नेपाली विद्युतीय सवारीको बजारमा निकै ठूलो सफलता पाएको थियो । हालसम्म नेपालमा एमजीका ४ हजार ५०० भन्दा बढी गाडीहरू गुडिरहेका छन् ।
एमजीले आफ्नो १०० वर्षको इतिहासलाई यो नयाँ प्रिमियम मोडलमार्फत निरन्तरता दिएको छ ।
यस्ता छन् विशेषता
यस गाडीमा १८० किलोवाटको शक्तिशाली मोटर र ३५० एनएम टर्क रहेको छ । यसमा ७७ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जुन यो सेग्मेन्टमै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ ।
एक पटकको फुल चार्जमा यसले ५३० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन मात्र ३८ मिनेट लाग्छ । नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

यसमा १९ इन्चको मिसिलिन टायर प्रयोग गरिएको छ । सुरक्षाको दृष्टिकोणले यो गाडी निकै मजबुत मानिएको छ । यसले 'युरो एनक्याप' बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसको ब्याट्री प्याकले विभिन्न कठिन परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ ।
गाडीभित्र १२.८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, एम्बियन्ट लाइटिङ, र प्यानोरामिक सनरुफ जस्ता विशेषता छन् । यसमा टिकटक, युट्युब, र स्पोटिफाइ जस्ता एपहरु चल्ने स्मार्ट फिचर्सका साथै ११ वटा स्पिकरहरू रहेका छन् ।
यसमा 'भिटुएल' प्रविधि पनि छ, जसबाट गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । प्यारामाउन्ट मोटर्सले नेपाली बजारका लागि उक्त ईभीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।
प्रिमियम लुक्स, अत्याधुनिक फिचर्स र बलियो सुरक्षामापदण्डका कारण यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।