काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोवाइलका पार्टपूर्जा तथा वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचीसहितको स्टिकर टाँस्ने सरकारको नयाँ व्यवस्थालाई व्यावहारिक बनाउन माग गरेको छ ।
आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गरी यस विषयमा विस्तृत छलफल गरेको हो ।
छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले सरकारले ल्याएको दीर्घकालीन नीतिले आयात व्यवसायलाई व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउनुका साथै सरकारको राजस्व वृद्धिमा समेत मद्दत पुग्ने बताए ।
अध्यक्ष उप्रेतीले नेपालमै हाल सिकेडी मोडेलमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका साथै टायर, लुब्रिकेन्ट्स र ब्याट्रीहरूको उत्पादन भइरहेको जानकारी समेत मन्त्रीलाई गराए ।
कार्यान्वयनको तहमा रहेका केही व्यावहारिक जटिलताहरूबारे नाडाले मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
एउटै बक्सभित्र सयौंको सङ्ख्यामा आउने साना स्पेयर पाट्र्सहरूमा छुट्टाछुट्टै स्टिकर टाँस्न प्राविधिक रूपमा कठिन हुने, भन्सारमा बण्डेड वेयर हाउसको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै स्टिकर टाँस्नुपर्ने बाध्यता अव्यावहारिक रहेको लगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।
यी समस्याहरूलाई दृष्टिगत गर्दै व्यवसायीहरूका लागि सहजीकरण गरिदिन नाडाले आग्रहसमेत गरेको छ ।
छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिले नाडाले नै पहिलोपटक सरकारलाई एमआरपी र स्टिकरको विषयमा सुझाव दिएको स्मरण गराए भने सचिव मेघराज पौडेलले स्टिकर टाँस्ने सम्बन्धमा देखिएका व्यावहारिक कठिनाइहरूबारे जानकारी गराए ।
नाडाको सुझावलाई सकारात्मक रूपमा लिँदै मन्त्रीले हालको परिस्थिति र व्यावहारिक पक्षलाई हेरेर यो व्यवस्थालाई केही समयका लागि पछाडि सारेर भए पनि समस्या समाधान गरिने आश्वासन दिइन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत ३० गते एक सूचना जारी गर्दै विदेशबाट पैठारी हुने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा एमआरपी उल्लेख हुनुपर्ने, बिक्री गर्दा बिजक जारी गर्नुपर्ने र स्वदेशी उद्योगको हकमा प्याकेजिङमै मूल्य, ब्याच नम्बर, तौल र म्याद स्पष्ट देखिने गरी स्थायी लेबल राख्नुपर्ने व्यवस्था गरेको थियो ।
भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्यहरू दिवाकर मिश्र, नविन पारख र नारायणप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।