काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जाँदा नेपाल आयल निगमले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । निगमका अनुसार नयाँ मूल्य आज मध्यरातदेखि लागू हुने भएको छ ।
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य आकासिँदा भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेशन बाट आउने मूल्यसमेत उच्च भएको र स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसक्दा निगम गम्भीर घाटामा गएको जनाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमलाई करिब साढे ५ देखि ६ अर्ब रुपैयाँ घाटा भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको तुलनामा तयारी इन्धनको मूल्य दोब्बरले बढेका कारण नेपालजस्ता आयातकर्ता देशलाई गाह्रो भएको उनले बताए ।
‘अन्तर्राष्ट्रिय बजार अहिले थामिनसक्नु अवस्थामा छ,’ उनले भने, ‘यसले गर्दा निगम कसरी सस्टेन हुने भन्ने चिन्ताले हामीलाई सताएको छ । ’ बजारमा इन्धनको माग र खपत भने सामान्य अवस्थाकै हाराहारीमा रहेको निगमले जनाएको छ ।
निगमका अनुसार हालको खपत पेट्रोल दैनिक २००० देखि २५०० किलोलिटर छ भने डिजेल दैनिक ४५०० देखि ५००० किलोलिटर रहेको छ ।
यस्तै, एलपी ग्यास मासिक ४६ देखि ४७ हजार मेट्रिक टन (दैनिक करिब १६०० टन रहेको जनाएको छ । हवाई इन्धनको खपत भने केही अन्तर्राष्ट्रिय उडानहरू कटौती भएका कारण सामान्य घटेको छ ।
निगमले घाटा कम गर्न र देशको अर्थतन्त्रलाई जोगाउन आम उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययी बन्न अपिल गरेको छ ।
‘उपभोक्ताले इन्धनको खपतमा केही कमी ल्याउन सके निगमको बढ्दो घाटालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने थियो,’ प्रवक्ता ठाकुरले भने ।
अवस्था यस्तै रह्यो भने आगामी १५ दिनमा १५ अर्ब घाटा हुने देखिएको निगमको भनाइ छ ।
पेट्रोल र डिजेलमा कति बढ्यो मूल्य ?
नयाँ समायोजनअनुसार पेट्रोल र डिजेल/मट्टितेल दुबैमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल १८४.५० कायम हुनेछ ।
दोस्रो वर्ग अन्तर्गतसुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडौं, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ । मार्च महिनामा मात्रै पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ र डिजेलको १४३ रुपैयाँसम्म बढेको निगमले जनाएको छ ।
तर, उपभोक्तालाई तत्काल ठूलो भार नपरोस् भनेर सीमित मात्र मूल्य वृद्धि गरिएको बताइएको छ । समयमै भुक्तानी गर्न नसक्ने अवस्था आए आपूर्ति व्यवस्थापनमै समस्या आउन सक्ने भन्दै निगमले चिन्ता व्यक्त गरेको छ । हालसम्म भने मागअनुसार आपूर्ति भइरहेको जानकारी दिइएको छ ।
निगमले मूल्य स्थिरीकरण कोष प्रयोग गर्दै सकेसम्म कम वृद्धि गरिएको उल्लेख गर्दै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य घटाउने प्रतिबद्धता जनाएको छ ।
