मापदण्डविपरीत खाद्य उत्पादन गर्ने ६४ वटा खाद्य व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौं । मापदण्डविपरीत खाद्य तथा पशुपन्छीका दाना उत्पादन र बिक्री वितरण गर्ने ६४ वटा व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म) बजार, उद्योग, होटल तथा रेस्टुरेन्टको अनुगमनका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा गुणस्तर मापदण्डविपरीत पाइएपछि सम्बन्धित व्यवसायीविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० बमोजिम सम्बन्धित जिल्ला अदालत तथा प्रमुख जिल्ला अधिकारीसमक्ष मुद्दा दायर गरिएको हो ।

कारबाहीमा पर्ने खाद्य पदार्थमा प्रशोधित पिउने पानी, दूध, दही, फ्लेभर्ड मिल्क, तोरीको तेल, प्रशोधित भटमास तथा सूर्यमुखी तेल, तयारी चाउचाउ, पफ, ब्रेड, मसला, भुजा, कफी, प्रोटिन पाउडर र क्यान्डीलगायत छन् । त्यस्तै, मदिराजन्य पेय पदार्थ मुस्ताङ गोल्डसमेत कारबाहीको सूचीमा परेको छ ।

खाद्य पदार्थसँगै ब्रोइलर तथा अण्डा उत्पादन गर्ने कुखुराका लागि बनाइने दाना र गाईवस्तुको दाना उत्पादन गर्ने उद्योगविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ । मुद्दा दायर गरिएका प्रमुख उद्योग तथा व्यवसायीमा सिजी फुड्स नेपाल प्रालि, खजुरीको नेपाल प्रालि, धनुषा डिस्टिलरी, न्यू होप एग्रो बिजनेस र कालिका रिफाइनरीलगायत रहेका छन् । विभिन्न मिनरल वाटर तथा दाना उद्योगसमेत कारबाहीमा परेका छन् ।

उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले विभाग तथा मातहतका कार्यालयले नियमित रूपमा बजार अनुगमन र निरीक्षण गर्दै आएका छन् । विभागले मापदण्डविपरीतका खाद्य तथा दाना पदार्थको उत्पादन र बिक्री-वितरण नियन्त्रण गर्न अनुगमनलाई थप तीव्र बनाउने जनाएको छ । 

Share News