काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै, २० देशका प्रविधि राखिने

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यवसायीकरणमा टेवा पुर्याउने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी २०८३ आयोजना हुने भएको छ ।

आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने प्रदर्शनीमा २० देशका आधुनिक कृषि औजार, उपकरण तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुने तीनदिने प्रदर्शनीमा करिब ७० प्रदर्शक र १५० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २ हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि राखिनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ ।

स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्न आयोजकले विशेष छुटको व्यवस्था गरेको छ । स्वदेशी उत्पादक कम्पनी तथा संस्थाका लागि करिब ३० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ ।

त्यस्तै, मेक इन नेपाल तथा मेड इन नेपालका कम्पनीलाई स्टलमा ६० प्रतिशत, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुट दिइनेछ ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, शीतभण्डार, उत्पादनपछिको व्यवस्थापन, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित आधुनिक यन्त्र र प्रविधि प्रदर्शन गरिनेछ ।

यसका साथै कृषि यान्त्रिकीकरणका विषयमा स्वदेशी तथा विदेशी विज्ञका प्रस्तुति, प्यानल छलफल र नीतिगत संवादसमेत सञ्चालन हुनेछन् ।

प्रदर्शनीको आयोजना कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, नेपाल कृषि मेशिनरी व्यवसायी संघ (एनएएमईए), बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहकार्यमा हुन लागेको हो ।

प्रदर्शनीको मुख्य प्रायोजकमा एस्केटी नेपाल प्रालि रहेको छ । त्यस्तै, युरोपेली संघ (ईयू) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जीआईजेडद्वारा सञ्चालित परियोजना एसोसिएट पार्टनरका रूपमा रहेको छ ।

यसका अतिरिक्त विभिन्न संघसंस्था तथा कम्पनीले प्लाटिनम, गोल्ड, प्रायोजक, सहयात्री र प्रवर्द्धकका रूपमा सहयोग गरेका छन् । 

Share News