काठमाडौं । राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनको सरकारी निर्णयविरुद्ध देशव्यापी चक्काजामको घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधिहरू र गृहमन्त्री रमेश लेखकबीच गृह मन्त्रालयमा छलफल जारी छ ।
‘सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समिति’ को नाममा आज देशभर सार्वजनिक सवारी सञ्चालन रोकिएको छ । चक्काजामका कारण काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरका सडकमा सार्वजनिक यातायात ठप्प भएको छ भने यात्रुहरू मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरू आन्दोलित बनेका हुन् ।
काठमाडौंका सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन् । बस, माइक्रोबस, टेम्पोजस्ता सवारी चलेका छैनन् भने केही निजी सवारी र ट्याक्सी मात्र सञ्चालनमा देखिएका छन् ।
यात्रीहरू पठाओ, इनड्राइभजस्ता एपमार्फत सेवा लिँदै गन्तव्यतर्फ लागेका छन् भने कतिपय पैदल यात्रा गर्न बाध्य छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार सार्वजनिक यातायातको संख्या अघिल्ला दिनको तुलनामा न्यून रहेको छ । छलफलबाट सहमति निस्कने आशामा आम जनजीवन प्रभावित बनेको छ ।