काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि एनएमबि हाईब्रिड फण्ड एल-२ को निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ बिक्री खुला गरेको हो ।
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल-२ बन्दमुखी योजनाको १० वर्ष अवधि तोकिएको छ । फण्डले १५ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो ।
उक्त फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाइदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । साथै उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।
कोष प्रवर्द्धक एनएमबि बैंक
एनएमबि हाइब्रिड फण्ड एल-२ को कोष प्रवर्द्धक एनएमबि बैंक हो । बैंकको स्थापना विंस २०५२ असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो भने विंस २०५३ पुस ४ गते नेपाल राष्ट्र बैंकबाट कारोबारको स्वीकृति पाइ सोही वर्षको पुस ११ गतेदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
विंस २०६५ बैशाख २४ गतेदेखि ‘क’ वर्गको रुपमा स्तर वृद्धि भई वाणिज्य बैंकका रूपमा कारोबार गर्दै आएको छ । बैंकले हालसम्म क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट, पाथिभरा विकास बैंक र प्रुडेन्सियल फाइनान्स कम्पनी, ओम डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेको छ ।
निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे बैंकिङ सेवा दिने, कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि बैंकिङ साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने बैंकको उद्धेश्य हो ।
साथै उपलब्ध शीप, श्रम तथा पूँजीलाई उचीत परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवं प्रवर्द्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने, बैंकिङ सेवामा जोखिम कम गर्दै यस क्षेत्रको उदारीकरणमा मद्दत पुर्याउने र मुलुकमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने बैंकको उद्धेश्य रहेको छ ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले गत वर्ष १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ सरकारलाई कर तिरेर योगदान पुर्याएको थियो ।
योजना व्यवस्थापकको परिचय
म्युचुअल फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं २०६७ जेठ ५ गते दर्ता भई भदौ ७ गते मर्चेन्ट बैंकरको रूपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको हो । कम्पनीले मर्चेन्ट बैंकिङ सेवाहरु निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति तथा सेयर रजिष्ट्रार सेवाहरू प्रदान गर्दै आएको छ । साथै कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने र लगानी परामर्शको कार्य समेत गर्दै आएको छ ।
धितोपत्र निष्काशनका लागि विवरणपत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य आवश्यक सबै कार्य गर्ने, संगठित संस्थासँग सम्झौता गरी निष्काशन गरेको धितोपत्र बिक्री नभएको अवस्थामा आफूले खरीद गर्न प्रत्याभूति दिने, संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान गर्ने र ग्राहकसँग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने योजना व्यवस्थापकको प्रमुख उद्देश्य रहेका छन् ।
कम्पनीको चुक्ता पुँजी, जारी पुँजी र अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीमा एनएमबि बैंकको शतप्रतिशत लगानी रहेको छ । क्यापिटलले आव २०८०/८१ मा ८ करोड २४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, आव २०७९/८० मा ८ करोड १० लाख २८ हजार रुपैयाँ र आव २०७८/७९ मा ९ करोड ३१ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।
क्यापिटलको आगामी योजना
बजारको अवस्था हेरी यस योजनाका अतिरिक्त अन्य विभिन्न योजनाहरूसमेत संचालनमा ल्याउने कम्पनीको भावी योजना तथा रणनीति छ । व्यवसाय विस्तारको लागि आफ्नो कार्य क्षेत्रभित्र रही तथा बोर्डको आवश्यक स्वीकृति लिई इन्भेष्टमेन्ट तथा मर्चेन्ट बैंकिङ्ग क्षेत्र अन्तर्गत नयाँ सेवाहरू सञ्चालन गर्ने, समय सापेक्ष नयाँ प्रविधिहरूको प्रयोग गरी देशभर आफ्नो सेवा विस्तार गर्ने योजना कम्पनीले राखेको छ ।
नेपाली पुँजी बजारमा सामूहिक लगानी कोषको सञ्चालन भएको करिब १२ वर्ष भएको छ । यस संस्था आफैले सञ्चालन गरेका २ वटा योजनाहरू परिपक्क भई हाल ३ वटा योजनाहरू संचालन गरी रहेको अनुभव छ । आफ्नो क्षेत्रमा प्रतिस्पर्धी रहन आवश्यक रणनीति तयार गरेको कम्पनीको दाबी छ । लगानीमा रहेका जोखिमहरु कम गर्न पुँजी बजारका महत्त्वपूर्ण सिद्धान्तहरू अनुशरण गरिएको कम्पनीले जनाएको छ । सोही अनुरूप विगतमा झैं भविष्यमा पनि नेपालको पुँजी बजारको एक जिम्मेवार र संवेदनशील भई व्यवसाय विस्तार गर्ने कम्पनीले बताएको छ ।
क्यापिटलको सञ्चालक र व्यवस्थापक टिम
क्यापटलको सञ्चालक समितिमा ५ जना रहेका छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट रमेशप्रसाद लोहनी रहेका छन् । विभिन्न पदमा रही बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव रहेका लोहनीले डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक तथा अध्यक्ष, नबिल बैंक रिटाइरमेन्ट फण्डमा अध्यक्ष, अमृत क्याम्पसमा सहायक लेक्चरर र बृहस्पति विद्यासदनमा शिक्षकको भूमिका समेत निर्वाह गरेका थिए । एमबिए र एमएससि गरेका लोहनी काठमाडौंको सामाखुसीमा बस्छन् । यस्तै, सञ्चालकहरूमा मनिष जैन, हरिश्चन्द्र सुवेदी, योगेन्द्रबहादुर थापा क्षेत्री र सुदेश उपाध्याय रहेका छन् र
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेशकुमार वैद्य कार्यरत छन् । ४९ वर्षीय वैद्यसँग एमबीए (फाइनान्स)सम्मको शैक्षिक योग्यता छ । उनी एनएमबि क्यापिटलमा २०७९ देखि हालसम्म सीईओको भूमिकामा कार्यरत छन् । यसअघि उनी माछापुच्छ्रे कृति क्यापिटलको सीईओ थिए । साथै उनी कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसका संस्थापक तथा प्रबन्ध सञ्चालक समेत हुन् । तत्कालीन भिबोर विकास बैंकमा चिफ बिजनेश अफिसर भएर काम गरिसकेका वैद्यसँग नाइट लिबर्टास, एलएलसि, अमेरिका र नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा समेत काम गरेको अनुभव छ ।
यस्तै, कम्पनीको चिफ बिजनेश अफिसरमा आशिष राज पाण्डे कार्यरत छन् । ३७ वर्षिय पाण्डेले एमबिए (फाइनान्स) गरेका छन् । एनएमबि क्यापिटलमाह २०७० असारदेखि हालसम्म प्रमुख कोष व्यवस्थापकको पदमा कार्यरत उनी त्यसअघि चौधरी ग्रुपमा वित्तीय विश्लेषकको पदमा काम गरेका थिए ।
कम्पनीले आव २०८०/८१ मा सीईओ वैद्यलाई ७९ लाख ९ हजार रुपैयाँ र चिफ बिजनेश अफिसर फाण्डेलाई २६ लाख ५६ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ ।
यस्तै, कम्पनीको म्युचुअल फण्ड तथा स्कीम म्यानेजर (एनएमबि हाईब्रिड फण्ड एल-२) प्रमुख प्रतिल कोजु, स्कीम म्यानेजर (एनएमबि फिफ्टी) सिजन सिंह खत्री, स्कीम म्यानेजर (एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२) सुदिप अर्याल र स्कीम म्यानेजर (एनएमबि सरल बचत फण्ड-इ) श्रीया श्रेष्ठ रहेका छन् ।
कोष सुपरीवेक्षक
एनएमबि हाईब्रिड फण्ड एल २ म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा अशोक राज पाण्डे, डा. विपिनचन्द्र अधिकारी, कृष्ण ज्ञवाली, नन्द किशोर शर्मा, ऋषिकेश वाग्ले र लक्ष्मण अर्याल रहेका छन् । पाण्डे शिक्षण पेशामा आवद्ध छन् भने डा. अधिकारी संवैधानिक तथा वाणिज्य कानूनका विज्ञ हुन् । यस्तै, ज्ञवाली फ्रिल्यान्स डेभलपमेन्ट कन्सलटेन्ट, शर्मा चार्टर्ड एकाउण्टेण्ट (सीए), वाग्ले अधिवक्ता र अर्याल कर विज्ञ हुन् ।
कहाँ लगानी गर्छ ?
फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंकको निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा संकलित रकम लगानी गर्नेछ ।
कम्पनीका अनुसार इक्विटीमा न्यूनतम ३० प्रतिशतदेखि अधिकतम ६५ प्रतिशत, स्थिर आम्दानी हुने उपकरणमा न्यूनतम २० प्रतिशतदेखि अधिकतम ६५ प्रतिशत र नगद तथा बैंक मौज्दातमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम २५ प्रतिशत लगानी गर्ने कम्पनीको योजना छ ।
योजना व्यवस्थापकको रेटिङ्ग
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।
इकाइधनीहरूले ११० प्रतिशत प्रतिफल पाउने
एनएमबि हाइब्रिड फण्ड एल-२, एउटा ब्यालेन्सड फण्ड हो । यस योजनाको प्राथमिक उद्देश्य इकाईधनीहरुको पुँजी सुरक्षित तवरले संरक्षण गरी निरन्तर रुपमा प्रतिफल प्रदान गर्नु रहेको छ । योजनाले सूचीकृत वा सूचीकृत हुने क्रममा रहेका सेयरहरू र स्थिर आम्दानी उपकरणहरू, मुख्यतः ऋणपत्र र मुद्दती निक्षेपमा निश्चित अनुपातमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल ११० प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ ।
फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १० प्रतिशत र तेस्रो वर्षदेखि १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने कम्पनीको अनुमानित योजना छ ।
सञ्चालन पूर्व खर्च विवरण
कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २३ को अधिनमा रही १.५ प्रतिशत योजना व्यवस्थापन शुल्क, ०.२ प्रतिशत डिपोजिटरी शुल्क र ०.१ प्रतिशत कोष सुपरिवेक्षक शुल्क लिइनेछ । वर्षको सुरु तथा अन्त्यमा आउने औषत न्याभको आधारमा शुल्कको गणना गरिएको छ । लेखापरीक्षक शुल्क १ लाख ६९ हजार ५ सय रुपैयाँ हुने अनुमान गरिएको छ । उक्त शुल्कमा हरेक ३ वर्षमा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । सूचना तथा विज्ञापन शुल्क हरेक ३ वर्षमा १० प्रतिशतले वृद्धि हुने गरी वार्षिक १ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
निष्काशन व्यवस्थापन शुल्क १० लाख रुपैयाँ, योजना दर्ता शुल्क १० लाख रुपैयाँ र धितोपत्र दर्ता आवेदन शुल्क २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क २५ हजार रुपैयाँ, सिडिएस दर्ता शुल्क १ लाख ५० हजार रुपैयाँ, नेप्से सूचीकरण शुल्क १ लाख रुपैयाँ, नेप्से आवेदन शुल्क १५ हजार रुपैयाँ, अन्य (विज्ञापन, सूचना, विवरणपत्र) ११ लाख ८६ हजार रुपैयाँ र अतिरिक्त खर्चहरुको व्यवस्था ५ लाख २४ हजार ४ सय रुपैयाँ गरी कुल ४० लाख २० हजार ४ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।