काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ का लागि खुकुलो मौद्रिक नीति सार्वजनिक गर्ने खबरले लगानीकर्ता उत्साहित भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारसँग सम्बन्धित नीतिहरूमा सहज गर्ने चाल पाएपछि लगानीकर्ताहरू उत्साहित भएर सेयर बजार बढेको सेयर जानकारहरू बताउँछन् ।
यसपटकको मौद्रिक नीतिमा पुँजी बजार सुधारका लागि सेयर कर्जामा तोकिएको व्यक्तिगतमा १५ र संस्थागतमा २० करोडको सीमामा केही परिवर्तन गर्न सक्ने आँकलन लगानीकर्ताहरूले गरेका छन् । साथै, सेयर कर्जाको १२५ प्रतिशतको जोखिम भारलाई १ सय प्रतिशतमा झार्ने, लोन टू भ्यालू रेसियोलाई सुधार गर्ने, बैक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर बिक्री गर्न पाउने व्यवस्था गर्न सक्ने भएकाले पुँजी बजार बढेको एक लगानीकर्ताले बताए ।
उनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा चित्रण गरेपछि पनि लगानीकर्तामा मनोबल बढेको छ । संसदका दुई ठूला दलको नै संयुक्त सरकार बनेपछि अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको ती लगानीकर्ताले बताए ।
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंक बढेर २ हजार ४२४.३२ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ अकंमा पुगेर बन्द भएको थियो भने मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा बन्द भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेदेखि पुँजी बजारमा रौनकता छाउन थालेको हो । बिहीबार ३१२ कम्पीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १ लाख ८४ हजार ७१२ पटक खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । बुधबारका दिन १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ र मंगलबार ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेप्सेमा लामो समयपछि बैंकको सेयर मूल्यमा सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त, र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, कुमारी बैंकको ९.५३ प्रतिशत, प्रभु बैंकको ९.५१ प्रतिशत, रिभरफल्स पावरको ९.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।