काठमाडौं । श्री डिष्टिलरीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
श्री डिष्टिलरी लिमिटेडले ९ लाख ६० हजार कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्टाएको छ ।
आईपीओ निष्कासन तथा बिक्रीका लागि आज जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।
हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।
यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गौचनले आईपीओ निष्कासनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।
सम्झौतासँगै कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताएको छ ।