काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने देखिएको छ । बजेटमा पुँजी बजारसँग सम्बन्धित व्यवस्था कार्यान्वयन भए बजार उकालो लाग्ने लगानीकर्ताहरू बताउँछन् । बजेटमा निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा पुँजी बजारमा सूचीकरण गरिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले पुँजि बजारको दायरा फराकिलो हुने लागानीकर्ताको विश्वास छ ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुलेल बजेटमा भनिएबजोमिकको कार्य भएमा क्रमश सेयर बजारमा सुधार हुँदै जाने बताउँछन् । ‘राष्ट्र बैंक उदार बन्ने हो भने अब सेयर बजारको ओरालो यात्रा अन्तिम जस्तै हो,’ उनी भन्छन्, ‘नेप्सेबाट विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिएअनुसार बजेटमा सम्बोधन गरिएको छ ।’
आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत भएको बजेटमा नेप्सेको पुर्नसंरचना गर्ने भनिएकाे छ । नेप्सेमा विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने विभिन्न ८ वटा लगानीकर्ता संघले संयुक्त रुपमा सुझाव दिएका थिए । त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र सीडीएससीको संरचनागत सुधार गरिने विषय समेत बजेटमा समावेश गरिएकाे छ ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे पनि बजेटमा भनिएका कुराहरू मौद्रिक नीतिमा समेटियो भने बजार क्रमश सुधारतर्फ मोडिने बताउँछन् ।
‘हुन त सोचे र माग गरेअनुसारका कुराहरू सम्बोधन भएका छैनन् । किनभने संरचनागत सुधार गर्ने विषय पहिलादेखि नै उठ्दै आएको हो । तर, पनि हामीले आशा गर्ने ठाउँ छ,’ उनी भन्छन्, ‘निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था लागु भयो भने बजारमा सकारात्मक प्रभाव पर्छ ।’
लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष समेत रहेका तुलसी राम ढकाल भने बजेटले लगानीकर्तामा भएको दुविधालाई स्पष्ट पारेकाे बताउँछन् । ‘हामीले माग गरेका कुराहरू सम्बोधन भएका छैनन् । तथापि बजेटले लगानीकर्तामा भएको दुविधालाई हटाइदिएको छ,’ उनी भन्छन्, ‘लगानीकर्तालाई कति कर लाग्ने भन्ने दुविधा हटेको छ । अब बजार आफ्नै लयमा चल्छ ।’
अर्थमन्त्री पुनले आगामी वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विभिन्न मागहरूका विषयमा केही बोलेका छैनन् । यद्यपि बजेटले पुँजी बजारलाई बिर्सिएको छैन भन्ने आभास भएको लगानीकर्ताहरूलेको भनाइ छ ।