काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसहित प्रभु बैंकमा मर्ज भएका तत्कालिन सेन्चुरी बैंकका विभिन्न १० जना पक्राउ परे ।
बैंकका सिनियर डीसीईओ न्यौपाने पक्राउ परेको खवरले दिनभर वित्तीय क्षेत्र ततायाे तर पनि यसको असर सेयर बजारमा भने खासै परेन ।
बजारमा प्रभुको सेयर मूल्य सामान्य अर्थात १.२० रुपैयाँले घटेको छ । प्रतिकित्ता १४९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बजार बन्द हुँदा २ रूपैयाँले घटेर प्रतिकित्ता १४७ रुपैयाँमा काराेबार बन्द भयो । प्रभुको सेयर भाउ अधिकांश बैंकको तुलनामा सस्तो हो भने कुमारी बैंकको तुलनामा महंगो हो ।
यसअघि प्रभुको सेयर प्रतिकित्ता न्यूनतम १४६ रुपैयाँसम्ममा कारोबार भएको थियो । बैंकले यस वर्ष वार्षिक साधारणसभा पनि गर्न बाँकी छ ।बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी रहेको स्रोतले बतायो ।
मंगलबारको बजारमा प्रभु बैंकको ७७ हजार ९४३ कित्ता सेयर एक करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ ।
समग्रमा मंगलबारको सेयर बजार ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा पुगेको छ । तर कारोबार रकम भने घटेर एक अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा दुई अर्बमाथिको सेयर कारोबार भएको थियो ।
मंगलबार बोटलर्स नेपाल (बालाजु) र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/ १० प्रतिशतले बढेको छ । त्यस्तै, सामलिङ पावरको सेयर मूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ ।
बजारमा सबैभन्दा बढी सेयर मूल्य घट्नेको शीर्ष स्थानमा चिर्ख्वा हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ५.०६ प्रतिशतले घटेर प्रतिकित्ता ६०२.९० रुपैयाँमा झरेको छ ।