काठमाडौं । जीवन बीमा क्षेत्रबाट एक महिनाको अवधिमा एक अर्ब बढी रकम बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ जीवन बीमा कम्पनीहरुबाट बाहिरिएको हो ।
सञ्चालनमा आएका १४ कम्पनीका बीमितहरुले समय अगावै बीमालेख अर्थात बीमा पोलिसी सरेन्डर गर्दा उक्त रकम जीवन बीमा क्षेत्रबाटै बाहिरिएको हो । समीक्षा अवधिमा १४ कम्पनीका कूल ९ हजार ७९८ जना बीमितले बीमा पोलिसी सरेन्डर गरेका तथ्यांकले देखाएको छ । अर्थात कम्पनीहरुमा एक महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेन्डर भएका छन् ।
संख्या र रकम दुबैको आधारमा नेपाल लाइफको सबैभन्दा बढी पोलिसी सरेन्डर भएका छन् । एक महिनामै नेपाल लाइफको ३ हजार ३२४ वटा पोलिसी बीमितहरुबाट सरेन्डर भएको छ । सो मात्राको पोलिसी सरेन्डर हुँदा कम्पनीबाट ४७ करोड २३ लाख रुपैयाँ एक महिनामै बाहिरिएको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को २ हजार २४ वटा पोलिसी सरेन्डर भएका छन् । बीमितहरुले उक्त मात्राको पोलिसी सरेन्डर गर्दा कम्पनीबाट ३१ करोड २५ लाख रुपैयाँ बाहिरिएको छ । अर्थात कम्पनीले बीमितलाई बुझाएको छ ।
अन्य बाँकी १२ वटा कम्पनीको भने एक हजारभन्दा कम पोलिसी सरेन्डर भएका छन् । तीमध्ये हिमालयन लाइफको सबैभन्दा बढी अर्थात ९ सय ८८ वटा पोलिसी सरेन्डर हुँदा १२ करोड २२ लाख रुपैयाँ कम्पनीबाट बाहिरिएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाबाट पनि एक महिनामै १० करोड ३२ लाख रुपैयाँ बाहिरिएको छ । संस्थानका बीमितले एक महिनामै सो रकम बराबरको ८६२ वटा पोलिसी समर्पण गरेका छन् ।
यता सबैभन्दा कम पोलिसी सरेन्डर गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । अधिकांश कम्पनीको करोडौं रकम बराबरको पोलिसी सरेन्डर हुँदा कम्पनीको ११ लाख ८७ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । इन्स्योरेन्सका १३ जना बीमितले सो रकम बराबरको पोलिसी समय अगावै त्याग गरेका हुन् ।
प्राधिकरणको तथ्यांकअनुसार नेशनल लाइफका २९१ जना बीमितले ४ करोड ५५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । मेट लाइफका ४६८ जना बीमितले ४ करोड ३९ लाख, एशियन लाइफका ७४४ जनाले ५ करोड ८४ लाख, आइएमई लाइफका १३३ जना बीमितले ९९ लाख, रिलायबल नेपाल लाइफका १६२ जना बीमितले ९० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
त्यस्तै, सिटिजन लाइफका १७६ बीमितले एक करोड १४ लाख, सूर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख र सानिमा रिलायन्सका १८० बीमितले एक करोड ५१ लाख रुपैयाँ बराबरको बीमालेख साउनको एक महिनामा त्यागेका छन् ।
जीवन बीमा क्षेत्रमा सरेन्डर बढ्नुको मूख्य कारण देशको आर्थिक मन्दी रहेको बीमाका जानकारहरु बताउँछन् । आर्थिक रुपमा सहज भएमात्रै बीमा गरिने भएकाले पनि त्यसमा मन्दी छाउँदा बीमा क्षेत्रमा सरेन्डरको दर बढ्ने उनीहरुको भनाई छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डरदर बढ्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।