
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा गृहमन्त्री हुँदा रामबहादुर थापाको सल्लाहकार बनेका इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई आज बिहान ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
द्वन्दविद् भनेर चिनिने राईलाई सरकारी वकिल कार्यालयले वारेन्ट जारी गरेको थियो । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन लागेको भन्दै एमालेका उपाध्यक्ष रामबहादुर थापाको छोरा, सचिव टोपबहादुर रायमाझी र उनको छोरा लगायत झण्डै आधा दर्जनलाई आरोप लागेको छ । सो विषयमा प्रहरीले केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोही क्रममा राई पनि पक्राउ परेका हुन् ।