काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै उनल यस्तो बताएका हुन् ।
घिसिङले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको र यसले निर्यात प्रभावित गर्ने बताएका हुन् ।
उनले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए । ‘नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत हो, जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्छ, जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्छ,’ उनले भने ।
जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने उनी बताउँछन् । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतकोभन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने उनले बताए ।
उनले ५० अर्बको तनहुँ जलविद्युतमा करिब ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको उनले बताए ।
प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तोपर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको घिसिङ बताउँछन् । उनले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डकी करिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने पनि बताए ।