काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा बिजुली निर्यात गरेर साढे ३ अर्ब रूपैयाँ कमाएको छ । प्राधिकरणका अनुसार दुई महिनाको अवधिमा भारतमा बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ कमाएको हो । जुन सबै खर्च कटाएर हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले दुई महिनाको अवधिमा बिजुली निर्यात गरेर साढे ३ अर्ब रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।
‘शुभ समाचार भन्दै’ घिसिङले सामािजक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपाल विद्युत् प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्बभन्दा बढी रुपैयाँ कमाएको छ ।’
नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात सुरु गरेको थियो । नेपालबाट भारतमा बिजुली निर्यात हुन थालेपछि बिजुलीले नेपालको ब्यापार घाटा कम गर्न सहयोग पुग्ने अनुमान धेरैको छ ।
पछिल्लो समय व्यापार घाटा चुलिदै गएको र बैदेशिक मुद्रा संचिति घट्दै गएको अवस्थामा बिजुली निर्यात बढ्दा धेरैले यसलाई व्यापारको टर्निङ प्वाइन्टको रूपमा लिएका छन् ।
यसले एकातिर नेपालभित्रको बढ्दो खपत धान्न मद्दत गरेको छ भने अर्कोतिर निर्यातको नयाँ ढोका खुला गरेको छ । विद्युत उत्पादन र निर्यात नेपालको आन्तरिक प्राकृतिक स्रोतमा आधारित भएकोले यसबाट नेपालले राम्रो लाभ लिन सक्ने धारणा धेरैको छ ।
अहिले नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर बंगलादेशमा पनि बिजुली निर्यात गर्दैछ ।
प्राधिकरणका अनुसार नेपालले हाल ९.६७ रुपैयाँ हाराहारीमा प्रति युनिट बिक्री गरिएको छ । यो प्राधिकरणको खातामा कर कटाएर आएको रकम हो । नेपालले भारतलाई ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ । त्यसमा कहिलेकाहीँ फ्रिक्वेन्सी हेरेर कुनै इभेन्टका बेला ४८ मेगावाट अतिरिक्त पठाउन सक्छ ।