काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरीले अहिलेको समस्या समाधान गर्न ५० लाख पर्यटक भित्र्याउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवमा बोल्दै चौधरीले ५० लाख पर्यटक भित्र्याउन सके अहिलेको सबै समस्या समाधान हुने बताएका हुन् । ‘५० लाख पर्यटक ल्याउन सक्यो भने धेरै समस्या समाधान हुन्छ, एक जना पर्यटक ७ दिनसम्म नेपालमा राख्न सक्यो भने ३ जनालाई रोजगारी दिन सक्छ,’ सांसद तथा उद्योगी चौधरीले भने ।
सांसद चौधरीले औद्योगिक क्षेत्रका नाममा पर्खाल लगाएर उद्योगको विकास नहुने बताए । ‘औद्योगिक क्षेत्र खोलेपछि त्यसभित्र उद्योगीले उद्योग खोल्नका लागि तछाडमछाड हुनुपर्छ । औद्योगिक क्षेत्रका नाममा पर्खाल लगाएर उद्योगको विकास हुँदैन,’ उनले भने ।
अहिलेको सरकारले सहुलियत दिँदा सिमेन्ट र छडको निर्यात सम्भव भएको सांसद चौधरीले बताए । सिमेन्टर र छडको निर्यातले नयाँ प्रकारको बाढी आउने निश्चित रहेको उनको भनाइ छ ।
सरकारको एकाधिकार भएको क्षेत्रमा सेवाग्राही मारमा परेको उनी बताउँछन् । ‘जुन कुरामा सरकारको एकाधिकार छ, त्यहाँ सेवाग्राही मारमा परेका छन्, पेट्रोल त्यसको एक उदाहरण हो ।’ उनले भने, ‘हरेक सेवा तथा हरेक आपुर्तिमा प्रतिस्पर्धा हुनुपर्छ ।’
राष्ट्रवादका नाममा जलस्रोतमाथि राजनीति भएको उनको ठहर छ । व्यापार घाटा कम गर्न जलस्रोत र पर्यटन नै प्रमुख आधार भएको उनको भनाइ छ ।