काठमाडौं । सरकारले भारतीय आयल कर्पाेरेशन (आइओसीलाई) भुक्तानी गर्नुपर्ने रकमको स्रोत सुनिश्चतता गरिदिएको छ । नेपाल आयल निगमले आईओसीलाई ३१ अर्बृ बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले आईओसीलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएको हो ।
लामो समयदेखि बक्यौता रकम भुक्तानी गर्न नसकेको भन्दै सरकारले ११ अर्ब बढी रकमको दिएको छ ।
सरकारले ऋण स्वरुप ७ अर्ब, निगमलाई भ्याट फिर्ता बापत दिन बाँकी ३ अर्ब ५० करोड रुपैयाँ र जेठ महिनामा घटाइएको पूर्वाधार करको सोधभर्ना रकम दिएको हो ।
आइतबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद् बैठकले आईओसीलाई भुक्तानी गर्न निगमलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको जनाएका हुन । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उनले बताए ।
उनका अनुसार पूर्वाधार करको सोधभर्ना बापत ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयले निगमलाई उपलब्ध गराउनेछ ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिन रकम अपुग भएकोले नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ ।
उक्त ऋण निगमलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत उपलब्ध हुनेछ ।