काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भारतीय आयल कर्पाेरेशन (आईओसी) ले नेपालमा मूल्य घटाएर पठाएको छ ।
रुस–युक्रेन युद्धका कारण निरन्तर बढेको पेट्रोलियम पदार्थको मूल्य केही दिन यता घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आईओसीले नेपालमा समेत मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।
शनिबार आईओसीले पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएको हो ।
भारतले मूल्य घटाएर नयाँ मूल्य पठाएतापनि नेपालमा तत्काल मूल्य नघट्ने भएको छ । निगमले आइओसीलाई पेट्रोलियम पदार्थको ३१ अर्बभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न समस्या भएको भन्दै तत्काल उपभोक्ता मूल्य नघटाउने तयारी गरेको छ ।
एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि रहेको कच्चा तेलले मूल्य हाल १०० डलरभन्दा कम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नोक्सानमा रहेको निगमलाई केही राहत मिलेको छ ।