सकसमा बैंक : न उठ्छ ऋण, नत बिक्छ धितो

<p>काठमाडौं । गत असार ३ गते नेपाल बैंकले कर्जा तिर्न नसकेको भन्दै पोखरामा रहेको दी फूलबारी रिसोर्टलाई लिलामीमा राख्यो । फुलबारी रिसोर्टले २०५५ सालमा बैंकबाट १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएर हालसम्म त्यसको ब्याज तथा किस्ता नबुझाएको भन्दै बैंकले रिसोर्ट नै लिलाम गर्ने सूचना निकाल्यो । यस्तै, ठूलो धितो लिलामको लागि सूचना आएको इच्छराज [&hellip;]</p>

काठमाडौं । गत असार ३ गते नेपाल बैंकले कर्जा तिर्न नसकेको भन्दै पोखरामा रहेको दी फूलबारी रिसोर्टलाई लिलामीमा राख्यो । फुलबारी रिसोर्टले २०५५ सालमा बैंकबाट १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएर हालसम्म त्यसको ब्याज तथा किस्ता नबुझाएको भन्दै बैंकले रिसोर्ट नै लिलाम गर्ने सूचना निकाल्यो ।

यस्तै, ठूलो धितो लिलामको लागि सूचना आएको इच्छराज तामाङको सीटीसी मलको हो । इच्छाराज तामाङले २१ करोड रूपैयाँ ऋण नतिरेको भन्दै कर्मचारी सञ्चय कोषले सीटीसी मलको धितो लिलामको सूचना निकालिसकेको छ । तर, इच्छाराज तामाङ पक्ष अदालत गएपछि काठमाडौं जिल्ला अदालतले लिलामको प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ । अहिले सीटीसी मलको लिलाम प्रक्रिया रोकिएको छ ।

बैंकरहरु अहिले ठूला धितो बिक्री गर्नु र कर्जा असुली गर्नु ठूलो चुनौति नै बनेको बताउँछन् । अहिले अर्थतन्त्रमा संकट देखिएको बेला ऋणीलाई पनि समस्या हुँदा त्यसको प्रत्यक्ष मारमा बैंकहरु परेका हुन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी सानो रकमको धितो बिक्री भइरहेको भएपनि ठूलो धितो भने बिक्री हुन भने कठीन नै भएको बताउँछन् । उनका अनुसार नेपाल बैंकले लिलामका लागि सूचना निकालेको फुलबारी रिसोर्टमा २/४ वटा बिडिङ भने बिक्री भएका छन् ।

‘अहिले ठूला उद्योगी तथा होटल व्यवसायीहरु पनि समस्यामा नै छन्, उनीहरूले ऋणको ब्याज तथा किस्ता पनि तिर्न नसकेको गुनासो गर्छन्, बैंकिङ प्रणालीमा पनि तरलताको संकट छ, ऋण असुलीका लागि भएपनि रिकभरीमा जानै पर्ने अवस्था हामीलाई छ तर, ठूलो धितो बिक्री नहुने चुनौति पनि छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थामा तरलताको संकट भइरहेको बेला बैंकहरुलाई ऋण असुली र ऋण रिकभरीमै समस्या देखिएको विभिन्न बैंकरहरु बताउँछन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटमा परेको व्यवसाय र अहिले रुस-युक्रेनबीचको युद्धले समस्या हुँदा अर्थतन्त्रमा समस्या भइरहेको बेला त्यसको प्रत्यक्ष मार बैंकहरुलाई परेको हो ।

यही समयमा बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले नियमनमा कडाइ गरेपछि बैंकहरु तनावमा देखिएका छन् । आर्थिक समस्या झेलिरहेका विभिन्न उद्योग व्यवसाय तथा ऋणीहरुले ऋण नतिरिरहेको बेला बैंकहरुलाई सावाँ ब्याज असुलीमा मात्रै होइन ऋण रिकभरीमा पनि समस्या देखिएको हो ।

अहिले बैंकहरु न ऋण असुल गर्न सक्ने, नत धितो नै बिक्री गर्न सक्ने अवस्थामा रहेको एक वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ले बताए । उनका अनुसार ऋण पनि असुल नहुँदा र धितो पनि बिक्री नहुँदा चौथो त्रैमासमा बैंकहरुको नन् बैंकिङ एसेट (एनपीए) बढ्ने देखिएको छ ।

‘एकातर्फ राष्ट्र बैंकले प्रोभिजन गर्नमा कडाइ गरिरहेको छ, अर्कोतर्फ ऋण असुल भइरहेको छैन, ऋण रिकभरीमा जाऔं भने पनि धितो बिक्री हुने अवस्था छैन, अहिले अधिकांश बैंकले निकालेका धितो लिलाम बिक्री भइरहेको छैन, माग गरे अनुसारको मूल्य नपाएपछि बैंकहरुले धितोलाई नन् बैंकिङ एसेटमा राख्नु पर्ने हुन्छ, मूल्य पाएपछि त्यसलाई बिक्री गर्छन्, त्यसले पनि बैंकहरुलाई दबाब सिर्जना भएको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी रोकेर प्रवाह भएको ऋण उठाउन ताकेता गर्दै आएको छ । वाणिज्य बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर नै राष्ट्र बैंकले नाफा र कर्जा लगानी नबढाउन मौखिक निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले अहिले भौतिक रुपमै बैंक-बैंकमा पुगेर सुक्ष्म निगरानी पनि गरिरहेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा निगरानी बढाएको छ । भौतिक रूपमै बैंकमा पुगेपछि राष्ट्र बैंकले बैंकहरुका एक-एक गल्ती देखाएको छ । त्यसैले पनि बैंकहरुलाई अहिले ‘एक्ज्याक्ट पिक्चर’को रिपोर्ट देखाउनु पर्ने बाध्यता छ ।

राष्ट्र बैंकको दबाबपछि नै बैंकहरु ऋण रिकभरीमा लागेका हुन् । तर, धितो बिक्री नहुँदा समस्या भएको बैंकरहरु बताउँछन् । उनीहरुले कर्जा लगानी रोकेर पुरानो ऋण असुली र कर्जा रिकभरीमै लागेका हुन् ।

‘राष्ट्र बैंकले नाफामा ध्यान नदिनु, कर्जा लगानी पनि नगर्नु पुरानो ऋण असुलमै ध्यान दिनु भनेर मौखिक निर्देशन दिएको छ, त्यसकारण पनि बैंकहरु सोही अनुसार काम गरिरहेका छन् तर, न ऋण असुल भइरहेको छ न त धितो नै बिक्री भइरहेको छ,’ ती डीसीईओले भने ।

अहिले विशेष गरेर पर्यटन र निर्माण क्षेत्रका व्यवसायीले बैंकको ऋण नतिरेको बैंकहरुको भनाइ छ । बैंकरहरुका अनुसार सोच अनुसारको कर्जा असुली नहुँदा असारमा खराब कर्जा बढेर औसत २ प्रतिशत पुग्ने देखिएको छ ।

बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार औसतमा खराब कर्जा १.२६ प्रतिशत छ । हालसम्म सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको छ ।

सम्बन्धि सामग्री : 

निक्षेपका नाममा कमिसनको चक्कर, बार्गेनिङमै बित्छ बैंकका सीईओहरूको समय

बैंकहरूका लागि आगामी दिन झनै सकस

Share News