काठमाडौं । गत शुक्रबार काठमाडौं कालिमाटीका कृष्ण कुमार शाक्यले काठमाडौं अर्गानिक नाम गरेको अनलाइन पसलबाट २ केजी नुन खरिद गरे । हिमालयन पिंक साल्ट नाम गरेको दुई केजी नुनको मूल्य उनले ६ सय रुपैयाँ तिर्नु पर्यो ।
यस्तै, काठमाडौंकै विपिन नाम गरेका युवाले पनि सोही ठाउँबाट ४ सय ग्राम नुन किने र सो नुनको मूल्य १८५ रूपैयाँ तिरे । उनीहरुले एक केजी नुनको मूल्य महँगो तिर्नु परेपछि विभिन्न ठाउँमा गुनासो गरे ।
हामीले यस विषयमा बुझ्दा पछिल्लो समय काठमाडौंमा अर्गानिक प्रडक्ट भन्दै अनाधिकृत रूपमा नुनको कारोबार भइरहेको पाइएको छ । विभिन्न कम्पनीहरुले अनलाईन मार्फत् अर्गानिक प्रडक्ट भन्दै ‘पिंक साल्ट’ को बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
नेपालमा नुन कारोबारको लागि सरकार र निजी क्षेत्रको संयुक्त लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै अनुमति प्रदान गरिएको छ । तर, अनलाईन मार्फत् बिना अनुमति विभिन्न कम्पनीहरुले नुनको खुलेआम रूपमा कारोबार गर्ने गरेका छन् ।
अनलाईन कम्पनीले सामाजिक सञ्जालमार्फत् प्रतिकिलो ३ सय तथा दुई किलोको पिंक साल्टको मूल्य ५ सय रुपैयाँ भन्दै खुलेआम रूपमा कारोबार गरिरहेका छन् ।
पछिल्लो समय काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनी लगायतले अनलाईनमार्फत् नुनको कारोबार गर्ने गरेका छन् । ती कम्पनीले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्ममार्फत पिंक साल्टको बिक्री वितरणको लागि प्रचारप्रसार गरिरहेका छन् ।
खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सो कम्पनीले खाद्य विभागबाट सिधै नुन (पिंक साल्ट) बजारमा बिक्री वितरण गर्नका लागि अनुज्ञापत्रसमेत लिएको छैन ।
नेपाल सरकारले हालसम्म आयोडिनयुक्त नुन प्याकेजिङ गरी बिक्री वितरण गर्ने अनुमति साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ । आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ को परिच्छेद २ मा आयोडिन नभएको नुन पैठारी, खरिद तथा बिक्री गर्न नहुने व्यवस्था गरेको छ । सो कानुनविपरीत अहिले बजारमा विभिन्न व्यापारीले नुनको प्याकेजिङ गरी बिक्री गरेको पाइएको हो ।
साल्ट ट्रेडिङले २०२० सालदेखि नुनको कारोबार गर्दै आइरहेको छ । मन्त्रिपरिषद्को निर्णयबाट नै साल्ट ट्रेडिङ कर्पोरेसनलाई नुन बिक्रीवितरण गर्न जिम्मेवारी दिइएको थियो । तर पछिल्लाे समय विभिन्न कम्पनीहरुले विभिन्न नाम राखेर नुनलाई प्रशोधन र प्याकेजिङ गरीएको भन्दै प्रतिकिलो २५२ रुपैयाँदेखि ३०० रुपैयाँ लिएर बिक्री वितरण गर्ने गरेका छन् ।
सरकारले नुन बिक्रीको सम्पूर्ण जिम्मा साल्ट ट्रेडिङ कर्पाेरेशनलाई मात्र दिएतापनि यसअघि पनि विभिन्न कम्पनीले अवैध रुपमा नुनको कारोबार गर्ने गरेका थिए । करिब दुई वर्षअघि एमएस ग्रुपले टाटा साल्टको बिक्री वितरण गरेको थियो ।
बिना अनुमित नुनको बिक्री वितरण गरेको उक्त कम्पनीले सरकारले साल्ट ट्रेडिङलाई मात्र नुन कारोबारको अनुमति दिएपछि पछि हटेको थियो । यस्तै, उद्योगी तथा उद्योग राज्यमन्त्री मोतिलाल दुगडको कम्पनी सेन्चुरी स्पाइस कम्पनीले समेत नुनको बिक्री वितरण गरेको थियो । राज्यमन्त्रीले नै अवैध रुपमा नुनको कारोेबार गरेको भन्दै विरोध भएपछि उक्त कम्पनीले नुनको कारोबार छोडेको थियो ।
विभाग भन्छ : अनुगमन सुरु भयो
बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय बजारमा अबैध रुपमा नुनको कारोबार गर्ने गरेको गुनासो आएको जनाएको छ ।
विभागका निर्देशक हरी पंगेनी नुनको अवैध रुपमा केही कम्पनीले अनलाईन मार्फत बिक्री वितरण गर्ने गरेको जानकारीमा आएको बताए ।
‘हामीलाई शुक्रबार साँझ केही कम्पनीले अनलाईन मार्फत् नुनको अवैध रुपमा कारोबार गर्ने गरेको भन्ने गुनासो आएको थियो, आजबाट हामीले टोली परिचालन गरिसकेका छौँ, अनुगमन टोलीले रिपोट बुझाएपछि यस विषयमा थप केही तथ्य आउँछ’, उनले भने ।