काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमएस बिलेटमा लाग्दै आएको अन्तःशुल्क फेरि बढाएका छन् । चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमार्फत् एमएस बिलेटमा लाग्दै आएको अन्तःशुल्क बढाएका उनले आगामी आर्थिक वर्षको बजेटमार्फत् फेरि अन्तःशुल्क बढाएका हुन ।
आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै उनले बिलेट आयात गर्दा लाग्दै करमा प्रतिमेट्रिकटन १ हजार रुपैयाँले बढाएर ३ हजार ५ सय रुपैयाँ पुर्याएका हुन् ।
प्रतिस्थापन विधेयक ल्याउनु अघि आयात हुने बिलेटमा प्रति मेट्रिक टन १ हजार ६५० रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा उनले त्यसमा वृद्धि गरी प्रति मेट्रिक टक २ हजार ५०० रुपैयाँ अन्तःशुल्क लगाएका थिए ।
उनले मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार दर तथा अन्तःशुल्क शूल्क नलाग्ने व्यवस्था गरेका थिए ।
अर्थमन्त्रीले सीमित उद्योगीलाई पोस्ने गरी ६ उद्योगीलाई मात्र फाइदा पुग्ने गरी बजेट ल्याएको भन्दै स्टील उद्योगी असन्तुष्ट बनेका छन् ।
रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले नयाँ व्यवस्थाले झन समस्या भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत् समस्या भएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमार्फत् थप समस्या हुने बताए ।
‘हामीलाई चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाले नै समस्या भएको थियो, अहिले पुनः अन्तःशुल्क बढाइयो, यसले झन समस्या सिर्जना गर्छ,’ उनले भने ।