नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको सबैतिरबाट तारिफ भएको छ । कोभिड १९ले थला परेको अर्थतन्त्रमा गभर्नर भएपछि महाप्रसाद अधिकारीको नेतृत्वमा बनेका पहिलो मौद्रिक नीतिको सबैतिरबाट स्वागत गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिको नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गरेको छ । कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र व्याज रकमलाई क्रमशः २०७७ पुस मसान्त, २०७७ चैत मसान्त, २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था र पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्ने गरी कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरू स्वागतयोग्य रहेको महासंघले जनाएको छ ।
पुनरकर्जा सम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पुर्याउने विश्वास लिइएको छ । कर्जा स्रोत परिचालन अनुपात बृद्धिले तरलता बृद्धि गर्न मद्दत गर्ने विश्वास छ । चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्याउने विश्वास लिइएको छ । वाणिज्य बैंकले कृषि र उर्जाको क्षेत्रमा गर्नु पर्ने लगानी सम्बन्धी व्यवस्थाले कृषिको आधुनिकीकरण र उर्जा क्षेत्रको विकासमा मद्दत गर्ने विश्वास लिइएको छ । साथै, वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले निश्चित प्रतिशत रकम लघु, साना एवम् मझौला उद्यमका क्षेत्र र पर्यटन लगायतका क्षेत्रमा कर्जा लगानी गर्नु पर्ने व्यवस्थाले यी क्षेत्रहरूको विकासमा मद्दत गर्ने महासंघको विश्वास छ ।

संचालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाहा गरी सहज बहिर्गमनको व्यवस्था र उधारो संकलन सम्बन्धी कानूनी व्यवस्था निजी क्षेत्रको अपेक्षा गरेको तर मौद्रिक नीतिमा समेटिन नसकेको महासंघले जनाएको छ । मौद्रिक नीति मार्फत ल्याइएका सकारात्मक कदमहरूलाई राम्ररी कार्यान्वय गर्न सके राष्ट्रिय अर्थतन्त्रको पुनरूत्थान एवं सवलीकरणमा योगदान पुग्ने विश्वास महासंघको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासबाट नेपाली अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्ने सकारात्मक सोच बोकेको बैंकरले बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक हुने वित्तिकै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले विकासन्युजसँगको संक्षिप्त प्रतिक्रियामा कोभिड १९ को नकारात्मक असर कम गर्ने सकारात्मक सोच सहित मौद्रिक नीति आएको प्रतिक्रिया दिए ।

‘एसोसिएसनको आधिकारिक धारणा अर्काे साता बैठक बसेर सार्वजनिक गर्छाैं, मौद्रिक नीतिमा आएका व्यवस्थाले के कस्तो असर पार्छ भनेर मैले दफावार अध्ययन गर्न पाएको छैन, सरसर्ती हेर्दा कोभिड–१९ का कारण परेको नकारात्मक असर कम गर्ने सकारात्मक सोचसहित यो मौद्रिक नीति आएको देखिन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने ।
वित्तीय संस्था संघले मौद्रिक नीति राम्रै आएको प्रतिक्रिया दिएको छ । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले पुरै बैंक तथा वित्तीय संस्थाहरु सन्तुष्ट भएको बताएका छन् ।
कोरोना भाइरसको बीचमा आएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई सन्तुष्ट पारेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याएका योजना तथा कार्यक्रमहरु समय र परिस्थिति अनुरुपकै भएको उनको भनाई छ ।

उनले विकासन्युजसँग प्रतिक्रिया दिँदै भने, ‘हामीले यो समयमा धेरै अपेक्षा गर्नु पनि हुँदैन, समय परिस्थिति अनुसार मौद्रिक नीति राम्रै छ, खास गरी क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई यसले सन्तुष्ट नै बनाएको छ ।’
यस वर्षको मौद्रिक नीतिले खासगरी क्षेत्र पहिचान गरी बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न निर्देशन दिएको बताउँदै उनले कृषिमा १५ प्रतिशत र उर्जाम १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था सकारात्मक भएको उनको भनाई छ ।