काठमाडाैं । विश्व बैंकले यो वर्ष नेपालको रेमिट्यान्स सवा एक खर्ब अर्थात १४ प्रतिशत घट्न सक्ने अनुमान गरेकाे छ । विश्व बैंकले प्रवासन र विकाससम्बन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै काेराेना भाइरसकाे कारण नेपालकाे रेमिट्यान्समा साे रकम जतिकाे नाेक्सान हुने अनुमान गरेकाे हाे ।
बैंकले याे भाइरसका कारण संसारभरिको आर्थिक क्रियाकलाप सुस्त भएपछि कामदारको श्रम आय घटेर रेमिटेन्स समेत ओरालो लाग्दै गएकाे बताएकाे छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महीना अर्थात फागुनसम्ममा नेपालले ५ खर्ब ९२ अर्ब रेमिट्यान्सभित्र्याएकाे थियाे । चैत यता रेमिटेन्स घटेको बताइएकाे छ ।
गत आर्थिक वर्षमा नेपालले वैदेशिक रोजगारीमा गएका नेपालीबाट ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्र्याएको थियो । विश्व बैंकले अनुमान गरेअनुसार यो वर्ष १४ प्रतिशत रकम घटे करिब सबा एक खर्ब रेमिट्यान्स कम भित्रिने भएकाे हाे ।
सन् २०२० मा संसारभरिको रेमिट्यान्स २० प्रतिशत घट्ने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार दक्षिण एशियाको मात्रै रेमिटेन्स आप्रवाह २२.१ प्रतिशत खुम्चनेछ । जसमा सबैभन्दा धेरै भारत र पाकिस्तानको रेमिटेन्स समान २३ प्रतिशतले गुम्ने विश्व बैंकले अनुमान गरेको छ । यो वर्ष बंगलादेशले २२ र श्रीलंकाले १९ प्रतिशत रेमिटेन्स आय गुमाउने प्रक्षेपण छ ।
नेपाली अर्थतन्त्र रेमिट्यान्सबाट चलेको छ । यो सबैलाई थाह भएको कुरा हो । रेमिट्यान्स रकमको वृद्धिदरमा गिरावटा आउनुको पहिलो कारण वैदेशिक रोजगारी रहेको छ । काेराना भाइरसकाे कारण अहिले धेरै नेपाली बेराेजगार भएर बसेका छन् भने धेरै स्वदेश आइसकेका छन् ।
लामाे समयदेखि मलेसिया तथा खाडीमुलुकमा रोजगारीमा रहेका युवाहरू अहिले कामबिहिन बनेका छन् । यसले पनि नेपालकाे अर्थतन्त्रमा निकै असर पर्ने देखिन्छ । अहिले विदेशमा नेपाली युवाले पाउँदै आएको सेवा-सुविधामा समेत कटौती भएको छ । त्यसले पनि त्यसकाे असर रेमिट्यान्समा पर्ने गर्छ ।