
काठमाडाैं । अष्ट्रियन मोटरसाइकल कम्पनी केटिएमले आफ्नो विल्कुलै नयाँ उत्पादन ‘३९० एडभेन्चर’ र ‘२५० एडभेन्चर’ लाई भोलिबाट शुरु हुन गइरहेको ‘ईआईसीएमए २०१९’ मा अनावरण गर्ने भएको छ । बहुप्रतिक्षित यी एडभेन्चर मोटरसाइकलहरुको लुक्स कस्तो होला भन्ने कुराले मोटरसाइकल प्रेमीहरुलाई कौतुहल पनि बनाएको छ ।
‘मिलान मोटरसाइकल शो’ पनि भनिने ‘ईआईसीएमए’ इटालीको मिलानमा प्रत्येक वर्ष हुने एउटा त्यस्तो मोटरसाइकल शो हो जहाँ विभिन्न मोटरसाइकल कम्पनीहरुले आफ्ना नयाँ उत्पादनहरुको प्रदर्शन गर्ने गर्दछन् । कम्पनीका अनुसार ‘३९० एडभेन्चर’ केटिएमको सिग्नेचर ओरेन्ज र ह्वाइट कलरमा उपलव्ध हुनेछ भने ‘२५० एडभेन्चर’ चाहिँ ओरेन्ज र ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।
इञ्जिनको कुरा गर्नुपर्दा ३९० एडभेन्चर र २५० एडभेन्चरमा क्रमशः ३९० ड्युक र २५० ड्युककै इञ्जिन समावेश गरिनेछ । तर, यी इञ्जिनहरुलाई भने बाइकको डुअल-पर्पोज नेचरलाई मध्यनजर गरेर थोरै परिमार्जन गरिनेछ ।
केटिएमले दुवै एडभेन्चर बाइकमा अगाडि तर्फ १९ इञ्चको र पछाडि तर्फ चाहिँ १७ इञ्चको अलोए ह्विल दिनेछ भने बाइकहरुको दुवै तर्फ लङ्ग ट्राभल सस्पेन्सन समावेश गर्नेछ ।
यी दुवै बाइकहरुलाई भारतमा आगामी डिसेम्बरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । भारतीय बजारमा केटिएम ३९० एडभेन्चरलाई तीन लाख रुपैयाँको हाराहारी र त्यसैगरी केटिएम २५० एडभेन्चरलाई चाहिँ दुई लाख ५० हजार रुपैयाँको हाराहारी मूल्य पर्ने अनुमान गरिएको छ ।
सार्वजनिक गरिए पश्चात यी बाइकहरुले रोयल इन्फिल्ड हिमालयन र बिएमडब्लू जी ३१० जिएस जस्ता एडभेन्चर बाइकहरुसँग प्रतिष्पर्धा गर्नेछ । यी बाइकहरुको नेपाल लञ्च बारे भने अहिले केहि पनि जानकारी प्राप्त भएको छैन ।