
विकास समितिमा रहेका तीन जना ठेकेदार सांसद क्रमशः जिपछिरिङ लामा, हरिनारायण रौनियार र बहादुरसिंह लामा
काठमाडौं । संसदको विकास समितिमा ठेकेदार सांसदहरुको अभूतपूर्व एकता देख्न पाइन्छ । विकास समितिमा क वर्गका ठेकेदार हरिनारायण रौनियार, बहादुरसिंह लामा र जिपछिरिङ लामा सदस्य छन् । समितिमा उनीहरुले एक अर्कालाई भरपुर साथ दिईरहेको दृष्य देख्न सकिन्छ ।
गत मंगलबार बसेको समिति बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले हरिनारायण रौनियार लगायतका ठेकेदार सांसदहरु विकास समिति बैठक सदस्य बन्न नहुने बताएकी थिइन् । सांसद टोप बहादुर रायमाझी र यज्ञराज सुनुवारले पनि पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए ।
पप्पु र ठेकेदारहरु प्रति सांसदहरुदे कडा अभिव्यक्ति दिएको बैठकमा रौनियार भने उपस्थित थिएनन् । सांसद जिप छिरिङ लामा सुरु देखि नै सहभागी थिए भने बहादुर सिंह लामा अन्तिम तिर आईपुगेका थिए । बैठक लगत्तै विकास समितिका कर्मचारीहरुको कोठामा पुगेका बहादुर सिंहले ठेकेदारहरुलाई गाली गर्नेहरुको उछितो काढ्न भ्याए । उनले अन्य सांसदहरुले देश बिगारेको तर ठेकेदारहरुले आफ्नो सम्पति खर्चेर विकास निर्माणका काम गरेको दावी पेश गरे ।
बुधबारको समिति बैठकमा ठेकेदारहरुमाथी अन्याय भएको भन्दै सांसद जिपछिरिङले कुरा राख्न चोहका थिए तर सभापति कल्याणी खड्काले त्यसबारेमा छुट्टै बैठक राखेर विस्तृत छलफल गर्ने बताइन् । बैठकमा जब रौनियारले बोल्ने अवसर पाए उनले आफुलाई गाली गर्नेहरु साम्प्रदायीक भएको आरोप लगाए ।
रौनियारले अघिल्ला सांसदहरुका कारण ठेकेदारहरुले तोकिएको समयमा काम गर्न नसकेको दावी पनि गरे । चाडबाडमा यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न आयोजीत बैठकमा रौनियारले पप्पु कन्स्ट्रक्सन विरुद्ध आवाज उठाउने सांसदहरुको अभिव्यक्ति विरुद्ध आपक्ति जनाएपछि अर्का सांसद गणेश पहाडीले रुलिङ गर्न सभापति खड्कालाई आग्रह गरे । सभापति खड्काले बिषय वस्तुमा आफ्ना धारणा राख्न रौनियारलाई रुलिङ गरिन् ।
त्यसको केहिपछि आफ्ना धारण राखेका ठेकेदार सांसद बहादुर सिंह लामाले रुलिङ गर्ने अधिकार सभापतिलाई मात्रै भएको भन्दै पहाडीको अभिव्यक्ति प्रति आपक्ति जनाए । उनले पनि विकास निर्माणमा ठेकेदारहरुको मात्रै गल्ती देख्न नहुने धारणा राखे । विकास निर्माणमा एकिकृत रणनीति नल्याएसम्म ठेकेदारले मात्रै केहि गर्न नसक्ने दावी गरे ।
त्यसपछि बोलेको जिपछिरिङले पनि ठेकेदारहरुलाई मात्रै गाली गर्न नहुने धारणा राखे । सरकारको नीतिगत कमजोरीका कारण ठेकेदारहरुले राम्रोसँग काम गर्न नसकेको उनीहरुको सामुहिक धारणा थियो ।
यसो भनिन् सभापतिले
सभापति कल्याणी खड्काले भने समितिका काम कारवाहीलाई म्याण्डेट अनुसार नै अघि बढाउने बताइरहेकी छिन् । ‘समितिमा को को सदस्य छन भन्ने कुराले समितिका काम कारवाहीमा कुनै प्रभाव पार्दैन, क्षेत्राधिकार भित्र रहेर विकास निर्माणका कामको प्रभावकारीता अभिवृद्धि र अनियमितता रोक्न समिति दृढ छ’, खड्काले भनिन् ।