काठमाडौं । उच्च सुरक्षाबिच दिउँसो ३:४५ बजे ‘होटल सोल्टी’मा बिम्स्टेकको उदघाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । भीआर्इपी सवारी हुँदा भने उपत्यकाका केहि सडक खण्डहरु दिनभर प्रभावित हुने भएका छन् ।
सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगिसकेका छन् । परराष्ट्र मन्त्रालयका सुजन ज्ञवालीका अनुसार दिउँसो १२:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ । सबै अतिथिहरु सोल्टी होटलमा रहेकाले दिनभर सवारी हुने हुँदा सोल्टीमोड, कालिमाटी, टेकू, त्रिपुरेश्वर, जमल र महाराजगंज रुट दिनभर प्रभावित हुनेछ ।
राष्ट्रपतिसँग शिष्टाचार भेटपछि अतिथिहरु पुन ‘सोल्टी होटल’ प्रस्थान गर्नेछन् । उद्घाटन समारोह सकिएपछि सबै देशका राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् । सम्बोधन सकिएपछि सबै अतिथिहरु सोल्टीमोड, कालिमाटी, टेकू, त्रिपुरेश्वर, माइतिघर, बानेश्वर, कोटेश्वर रुट हुँदै ‘होटल हायत’ पुग्नेछन् । होटल हायतमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिने कार्यक्रम रहको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञावालीका प्रेस सल्लाहकार खेमराज ज्ञावालीले बताए ।
ज्ञावालीका अनुसार (भोली) शुक्रबार १० बजे केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटघाट हुनेछ । दिउँसो १ बजे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । यसपछि मोदी पशुपतिनाथमा बनेको धर्मशालाको उद्घाटनमा जाने कार्यक्रम रहेको छ । मोदी शुक्रबार नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
सवारीमा उच्च सुरक्षा
अतिथिहरुका लागि सेनाको नेतृत्वमा ५ घेरा भन्दा बढी सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा ट्राफिक प्रहरी, दोस्रो घेरामा जनपथ प्रहरी, तेस्रो घेरामा शसस्त्र प्रहरी, चाैथाे घेरामा सेनाले सुरक्षा प्रदान गरिरहेको छ । सवारीको समयमा नेपाली सेनाले हेलिकप्टरबाट समेत सुरक्षा प्रदान गरिरहेको छ ।