
काठमाडौं । इन्जिनियरिङ अध्ययनको तयारी गर्दै हुनुहुन्छ ? इन्जिनियर बन्ने चाहानामा कतै पैसाको कमिले अवरोध त उत्पन्न भएको छैन ? अध्ययन गर्नका लागि पैसा छैन ?
अब चिन्ता नलिनुस हिमालय कलेज अफ इन्जिनियरिङले समस्याको समधान गरिदिने भएको छ । उसले पैसा नहुने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कलेजले एनएमबी बैंकको सहकार्यमा न्युनतम ४० देखि ८० प्रतिशतसम्म शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।
प्रवेश परीक्षा उर्तिर्ण गरेका विद्यार्थीले भर्ना भएपछि नै एनएमबी बैंकबाट ऋण लिन प्रक्रिया सुरु गरिदिने कलेजका निर्देशक पुर्णभद्र अर्यालले बताए । यस्तो व्यवस्था नेपालमा पहिलो पटक भएको उनले जानकारी दिए ।
सकेसम्म विद्यार्थीको अभिभावकको घरजग्गा धितो वा नभए एसएलसी र प्लस टु प्रमाणपत्र धितोमा बैंकबाट कर्जा उपलब्ध हुने उनले जानकारी दिए । “अब पैसा नभएर विद्यार्थीले इन्जिनियर बन्न नपाउने अवस्थाको अन्त्य हुने छ” अर्यालले भने । ऋण लिने विद्यार्थी लगातार पास हुनु पर्नेछ ।
शैक्षिक कर्जाको ब्याजदर भने सस्तो हुने उनले बताए । उनले अहिले नै यति भन्न नसकिने स्पष्टपारे । कलेजले पहिलो चरणमा एनएमबी बैंकसंग बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेशन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कर्जाको व्यवस्थापन गर्न लागेको हो । यो विषय अध्ययन गर्न ९ लाख रुपैयाँ लाग्ने उनले बताए । कलेज ललितपुरको च्यासलमा रहेको छ ।
यसका अतिरित्त कलेजमा बीई सिभिल, कम्प्युटर र आर्किटेक्चर विषयमा स्नातक अध्ययन हुने छ । सामाजिक उतरदायित्व वहन गर्दै कलेजले सुलभ र सस्तो कर्जामा इन्जिनियर बनाउने योजना ल्याएको उनको भनाई छ । यता सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यवसायिक कर्जा योजना लागु गरेको छ ।