काठमाडौं । सरकारले सवारी साधन दुर्घटना तेस्रो पक्ष बीमा दावी रकम बढाउने भएको छ । यातायात व्यवस्था विभागले तेस्रोपक्ष बीमा रकमको पुनरावलोकनको काम सुरु गरेको छ । प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न विभागले बीमा कम्पनीलाई भनेको छ ।

तेस्रो पक्षिय दुर्घटना बीमा रकम कम भएको सबत्र्र गुनासो आएपछि यसलाई पुनरावलोकन गर्न लागिएको विभागका प्रवत्ता तुलसी गौतमले बताए । “बीमा दावी रकम बढाउन प्रिमिय कति चाहिन्छ भनेर बीमा कम्पनीसंग प्रस्ताव मागेका छौ” उनले भने “बीमा कम्पनीको प्रस्ताव आएपछि सोको अध्ययन गरेर दावी भुत्तानी रकम बढाउने विषयमा निर्णय हुनेछ ।” अहिले नै यति हुन्छ भन्न नसकिने उनले स्पष्टपारे ।
सवारी दुर्घटनामा टाउको र स्पाइनल इन्जुरी भई सरकारी चिकित्सकको शिफारिशमा लामो समयसम्म उपचार गराउनु पर्ने घाइतेको हकमा बढीमा ६ महिनासम्मको उपचारका लागि प्रिमियममा थप बीमा रकम वहन गर्न सकिने रकम समेत प्रस्ताव गर्न बीमा कम्पनीलाई अनुरोध गरिएको गौतमले जानकारी दिए ।
सवारी दुर्घटनामा तेस्रो पक्षको मृत्यु भएको अवस्थामा पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत र घाइतको उपचारका लागि ३ लाख रुपैयाँ बीमा कम्पनीबाट वहन हुदै आएको छ । यी दुबै रकममा वृद्धि गर्नका लागि विभागले बीमा कम्पनीबाट प्रस्ताव माग गरेको हो ।
सिण्डिकेट अन्त्य भइसकेपछि यातायात क्षेत्र सुधारको यो दोस्रो कदम भएको गौतमको भनाई छ ।
सिण्डिकेट हुदा यातायात समितिले मृत्यु भएको परिवारलाई आफनो तर्फबाट थप राहात दिने व्यवस्था गरेको पाइएको उनले बताए । सिण्डिकेट हटेपछि समिति खारेज भएका र थप दायित्व वहन नहुने भएपछि सरकारले नै दुर्घटनाबाट पीडित परिवारलाई दिने दावी भुत्तानी रकम बढाउने तयारी थालेको हो ।
सवारी दुर्घटनापछि भीडले लाखौ रुपैयाँ क्षतिपूर्ति मागेर समस्या ल्याएपछि समधान गर्न केही वर्षअघि सरकारले तेस्रो पक्षिय दुर्घटना बीमा योजना लागु गरेको हो । यसअन्तर्गत सवारीसाधन, यात्रु र तेस्रो पक्षको बीमा हुदै आएको छ ।