काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम ९६.४ प्रतिशत सकिएको छ । आयोजनाको काम ३.६ प्रतिशत मात्र बाँकी छ ।हाल आयोजनामा पेनस्टक पाइप राख्ने, सुरुङमा क्रंक्रेटिङका साथै सर्ज र भेन्टिलेटर सुरुङको काम भइरहेको छ ।

आयोजनाको लामावगरस्थित बाँध
बाँधको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रसारणलाइन अन्र्तगत ४ वटा टावरको संरचना निर्माणको काम बाँकी छ । आयोजनाको विद्युतगृह दोलखाको गाेंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभी प्रसारणलाइन मध्ये २५ किलोमिटर तार तान्ने काम सकिएको आयोजनाका प्रवत्ता गणेश न्यौपानेले बताए । यस्तै १०८ वटा टावर खडा गरिसकेको छ ।
आयोजनाको काम अब अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । आगामी बैशाखभित्र आयोजनाबाट बिजुली उत्पादन हुने उनले बताए । वर्षादले गर्दा सडक अवरुद्ध हुदा ठुला पाइप आपूर्ति गर्न समस्या भएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ ।
आयोजनाको लागत बढेपछि थप ऋण लिने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले अपुग ७ अर्ब ६६ करोड थप कर्जा लिन ऋणदाता कर्मचारी संचय कोषसंग छलफल अघि बढाएको छ ।
निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक ३५ अर्ब २९ करोड अनुमानित लागत तय भएको थियो । कम्पनीले ४१ अर्ब ६७ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गरेको थियो । जसअनुसार सेयर पुँजी १० अर्ब ५९ करोड, सरकारको ११ अर्ब ८ करोड, संचय कोष, टेलिकम, बीमा संस्था र लगानी कोषको २० अर्ब लगानी भएको थियो ।
भूकम्प, नाकावन्दी, मूल्यवृद्धि, डलरको भाउ बढेको र सुरुङको डिजाइन परिवर्तनले गर्दा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । नपुग ७ अर्ब ६६ करोड रुपैयाँ ऋण लिनका लागि पक्रिया अघि बढेको
आयोजनाको समय र लागत बढेपनि ब्याज खर्च मात्रै १७ अर्ब रुपयाँ पुग्ने अनुमान गरिएको छ । डलरको मूल्य बढ्दा ७ अर्ब रुपैयाँ दायित्व बढेको आव्हानपत्रमा उल्लेख गरिएको छ । बिजुली बिक्रीबाट कम्पनीले साढे १० अर्ब रुपैयाँ हारहारीमा आम्दानी गर्ने छ ।
नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बीमा संस्थानको २ र नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ । हालसम्म आयोजनामा ३८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।