काठमाडौं। नेपालको शैक्षिक परामर्श क्षेत्रमा हुन लागेको वैदेशिक लगानीप्रति नेपाली कन्सल्टेन्सीहरुले आपत्ति जनाएका छन् । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच वटा संगठनहरुले शैक्षिक परामर्शको क्षेत्रमा भित्रिन लागेको वैदेशिक लगानीको बिरोध गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को अगुवाईमा फेकोन, आइरिन, नायर, जाल्सानले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शका क्षेत्रमा विदेशी लगानीको प्रतिवाद गरेका हुन् ।
विदेशी लगानीमा खुल्ने परामर्श दाता कम्पनीहरुले थोरै लगानी गरेर धेरै प्रतिफल फिर्ता लैजाने, विश्व विद्यालयका प्रतिनिधी भए वापत आउने कमिसन उतै राख्ने, राज्यलाई थोरै मात्र कर तिर्ने, न्युन मात्रामा रोजगारी दिने, नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या वृद्धि हुने लगायतका तर्क गर्दै त्यस्तो लगानी आवश्यक नभएको दावी गरेका हुन् ।
नेपालकै शैक्षिक परामर्श दाता कम्पनीहरु सक्षम रहेको अवस्थामा विदेशी लगानी भित्र्याउनुको औचित्य नहुने पनि उनीहरुको दावी थियो । हालसम्म शिक्षा मन्त्रालयमा २२५६ वटा शैक्षिक परामर्श दाता कम्पनी आवेदन दिएका छन भने १४७३ वटाले लाइसेन्स पाएका छन् ।
यी कम्पनीहरुकै नियमन राम्रोसँग नभैरहेको अवस्थामा विदेशी कम्पनी भित्र्याउँदा थप अराजकता निम्तिने इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले दावी गरे ।
उनले आफुहरु नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने मात्रै नभएर विदेशी विद्यार्थीलार्ई उच्च शिक्षा अध्ययनका लागि नेपाल ल्याउने अभियानमा समेत जुटिसकेको बताएका थिए ।
उनले नेपालको हावा पानीका कारण नेपाल शैक्षिक हबका रुपमा विकास गर्न सकिने अवस्थाको सदुपयोग गर्न आफुहरु तयार रहेको पनि बताए । उनीहरुले विदेशी शैक्षिक परामर्श दाता कम्पनीको शाखा तथा फ्रेञ्चाइज खोल्न समेत रोक लगाउनुपर्ने धारणा राखेका थिए ।