काठमाडौं । सेयर बजार घट्दै गएपछि सामुहिक लगानी कोष (म्युचअल फण्ड) को प्रतिफलमा असर परेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका ६ मध्ये ५ वटा घाटामा गएका छन् । पछिल्लो समयमा सेयरको मूल्य निरन्तर गिरावट आउनु र बजारको अवस्था नबुझी लगानी बढाउदा नोक्सानी भएको हो ।
नोक्सानी बढ्दै गएपछि प्रति इकाई खुदमुल्यमा समेत गिरावट आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । म्युचअल फण्डले हकप्रद, बोनस, साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) मा लगानी गरेको छ । फण्ड व्यवस्थापकको सही विश्लेषणको अभावमा लगानीको प्रतिफल घटेदै गएको छ । म्युअल फण्डको प्रतिफल निरन्तर गिरावट आउन थालेपछि निष्कासन गरिएका यस्ता फण्ड बिक्री हुन छाडेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत सञ्चालनमा ल्याएको एनआईबीएल समृद्धि फण्ड १ र एनआईबीएल प्रगति फण्डको वित्तीय अवस्था ऋणात्मक देखिएको छ । एनएआईबीएल समृद्धि फण्ड साढे १८ करोड रुपैयाँ नोक्सानीमा गएको छ । गत जेठमा साढे १६ करोड रुपैयाँ नोक्सानीमा थियो । एक महिनामा २ करोड नोक्सानमा गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
गत असारमा फण्डको प्रतिइकाइ खुद मुल्य पनि घटेर २१ पैसा घटेर ११ रुपैयाँ २९ पैसामा झरेको छ । गत जेठमा खुद ईकाई मूल्य ११ रुपैयाँ ५० पैसा थियो । प्रतिइकाई १० रुपैयाँ रहेको १ अर्ब रुपैयाँको ईकाई फण्डले गत असारसम्म ८० सुचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सेयरमा मात्रै कम्पनीले ७७ करोड ८६ लाख रुपैयाँ लगानी गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै एनआईबीएलको प्रगति फण्ड पनि नोक्सानमा गएको छ । गत असारसम्म १६ करोड ७६ लाख रुपैयाँ नोक्सानमा गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत जेठमा १५ करोड १ लाख रुपैयाँ नोक्सानीमा थियो । फण्डमा ७५ करोड रुपैयाँ भएपनि ६६ कम्पनीको सेयरमा ५२ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै लक्ष्मी बैंकले ल्याएको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड दुबै नोक्सानमा गएका छन् । लक्ष्मी इक्विटीको गत असारमा मात्रै खुद सम्पत्ति १२ पैसाले घटेर ८ रुपैयाँ ६६ पैसा कायम भएको छ । गत जेठमा ८ रुपैयाँ ७६ पैसा थियो । फण्डको खुद सम्पत्ति पनि १ करोड ४६ लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । लक्ष्मी इक्विटी फण्डले ५८ सुचिकृत कम्पनीको ७० करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ ।
लक्ष्मी भ्यालु फण्ड १ को खुदमूल्यमा थोरै गिरावट आएको छ । गत असारमा भ्यालु फण्डको खुदसम्पत्ति १० रुपैयाँ ८४ पैसा छ । गत जेठमा १० रुपैयाँ ८६ पैसा थियो । फण्डको खुद सम्पत्ति ११ लाख १९ हजार रुपैयाँ घटेको वित्तीय विवरणमा उल्लेख छ । फण्डको खुद सम्पत्ति घटेर ५४ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । जेठमा ५४ करोड २९ लाख रुपैयाँ थियो । फण्डले ३३ सुचिकृत कम्पनीमा लगानी गरेको छ ।
सिद्धार्थ बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम म्युचअल फण्डको खुदसम्पत्ति पनि घटेर प्रति इकाई ११ रुपैयाँ ५४ पैसामा झरेको छ । गत जेठमा ११ रुपैयाँ ८० पैसा थियो । एक महिनाको अन्तरालमा खुद इकाई मूल्य २६ पैसा घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । फण्डको खुद सम्पत्ति ३ करोड रुपैयाा घटेर १ अर्ब १५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत जेठमा १ अर्ब १८ करोड रुपैयाँ थियो । फण्डले विभिन्न ७४ सुचिकृत कम्पनीको २२ लाख ७७ हजार ४२१ कित्तामा ५९ करोड रुपैयाँ लगानी गरेको छ ।
यस्तै गत फागुनदेखि सञ्चालनमा आएको सिटिजन्स बैंकको सिटिजन्स म्युचअल फण्ड १ को खुदसम्पत्ति बढेको छ । गत असारमा फण्डको सम्पत्ति मूल्य बढेर प्रतिइकाई १० रुपैयाँ २२ पैसा पुगेको छ । गत जेठमा १० रुपैयाँ १८ पैसा थियो । एक महिनाको बीचमा सम्पत्ति मूल्य ४ पैसा बढेको छ ।
खुदसम्पत्ति बढेर ८३ अर्ब ७७ करोड २० लाख रुपैयाँ पुगेको छ । गत जेठमा सम्पत्ति ८३ अर्ब ४७ करोड रुपैयाँ थियो । सिटिजन्सलदे ३२ संस्थाको ५ लाख ५ हजार ४८१ कित्ता सेयरमा १४ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । सिटिजन्सले १ करोड ७७ दाख २० हजार रुपैयाा आम्दानी गरेको छ । गत जेठमा १ करोड ४७ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थिो ।