काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) सीमा घटाएपछि शुक्रबार एकै दिन बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता थप भएको छ ।
शुक्रबार तरलता बढेर १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । शुक्रबार केन्द्रीय बैंकले ६० दिने निक्षेप उपकरणमार्फत प्रतिस्पर्धाबाट बजारबाट १५ अर्ब रुपैयाँ उठाउदै छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सीआरआर घटाएर ४ प्रतिशत कायम गरेपछि बैंकिङ प्रणालीमा तरलता थप भएको हो ।
सीआरआरले तरलता बढाएपछि बैंक तथा वित्तीय संस्थालाई तत्कालका लागि लगानीयोग्य पुँजीको समस्या समधान भएको छ । गत असारसम्म वाणिज्य बैंकले ६, विकास बैंक र वित्त कम्पनीले ५ प्रतिशत सीआरआर कायम गर्नु पर्ने व्यवस्था थियो । सीमा घटाएर बैंक तथा वित्तीय संस्था सबैलाई एउटै दर कायम गरिएको छ । भारतीय रिजर्व बैंकले पनि सीआरआर ४ प्रतिशत कायम गरेको छ ।
लगातार २ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएपछि केन्द्रीय बैंकले तरलता बढाउन सीआरआर सीमा हटाएको हो । बैंकिङ प्रणालीमा तरलता बढेपछि ब्याजदर घट्ने छ । बैंकले दिने कर्जाको ब्याजदर औसत १२.४० प्रतिशत छ । यस्तै निक्षेपको ब्याजदर औसत साढे ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर अन्तर घटाएर ४.५ प्रतिशत कायम गरेपछि यसले पनि ब्याजदर घटाउन सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकको छ ।
सरकारको खर्च बढेपछि पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता बढेको हो । अधिक तरलता भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि बिहीबारसम्म ३ दिन ९० दिन र ६० दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाएको हो । बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने लक्ष्य लिएको लिएको थियो । विभिन्न बैंकले ५७ अर्ब ७५ करोड रुपैयाँ प्रस्ताव गरेका थिए । पछि बढी दर प्रस्ताव गरेका थिए । अधिकाँशले बढी ब्याजदर प्रस्ताव गरेपछि धेरैको बोलपत्र अस्वीकृत भएका थिए ।
बैंकले २.९ देखि ३.८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । बिहीबार केन्द्रीय बैंकले १९ बैंक तथा वित्तीय संस्थाबाट ३.४ प्रतिशतमा बैंकबाट १० अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा ६० अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।