काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ मंहगिएर नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार १ डलर बराबर ११० रुपैयाँ ७८ पैसा बिक्री मूल्य तोकेको छ । गत वैशाख यता अमेरिकी डलर निरन्तर मजवुत र नेपाली मुद्रा कमजोर हुदै गएको छ ।

भारतमा १ डलर बराबर ७० भारु नजिक पुगेपछि यसको असर नेपाली बजारमा परेको हो । भारतीय रिजर्व बैंकले शुक्रबारका लागि १ डलर बराबर ६९ रुपैयाँ १२ पैसा भारु तोकेको छ ।
अमेरिकाको अर्थतन्त्र मजवुत र भारतको कमजोर भएपछि यसको असर नेपालमा परेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । अमेरिकाको फेडरल रिजर्वले ब्याजदर बढाउने संकेत गरेपछि भारतमा भएको लगानी धमाधम अमेरिकातर्फ जान थालेपछि भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको उनको भनाई छ ।
नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । २ महिनाको बीचमा नेपाली रुपैयाँ ४ रुपैयाँले कमजोर भएको छ ।
२०७४ असारको तुलनामा २०७५ जेठ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ३.९ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०७ रुपैयाँ ९४ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ पैसा थियो ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तराष्ट्रिय बजारमा डलर महंगिदै गएको हो ।
कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ ।२ वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ ।
डलर बलियो हुँदाका बेफाइदा
डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ ।
यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ ।
राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।