काठमाडौं । अनलाइन सेयर कारोबार (अनलाईन ट्रेडिङ) को परीक्षण आज मंगलबारदेखि सुरु हुने भएको छ । अनलाइन परीक्षण मात्र सुरु हुने भएकाले ब्रोकर कार्यलयबाट युजर नेम र पासवर्ड लिएका लगानीकर्ताले अझै केही दिन पुरानै प्रणालीबाट सेयर खरिदबिक्री गर्नुपर्ने हुन्छ ।

ब्रोकरबाट युजर नेम र पासवर्ड लिएका लगानीकर्ताले आफनो मोवाइल वा ल्यापटपबाट कारोबार हेर्न मात्र सक्ने तर अर्डर दिन नसक्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रवत्ता मुराहरि पराजुलीले बताए । परीक्षणका रुपमा कारोबार सुरु भएकाले विस्तारै अनलाइनमा प्रणाली हस्तान्तरण हुदै जाने हुदा पुर्ण रुपमा अनलाइन सेयर कारोबार हुन २ महिनासम्म लाग्न सक्ने उनले जानकारी दिए ।
उनका अनुसार पुरानो प्रणालीबाट आधुनिक प्रणालीमा विस्तारै हस्तान्तरण हुदै जाने भएकाले केही समय लाग्ने भएको छ । प्रणाली हस्तान्तरण हुदै जाँदा लगानीकर्ताले आफनो मोवाइलबाट सेयर खरिदबिक्रीको अर्डर गर्न सक्ने छन् । यस्तै घर र कार्यलयमा बसेर मोवाइलको अतिरित्त ल्यापटप र कम्प्युटरबाट पनि सेयर कारोबार गर्न सकिने छ ।
नेप्सेले आवश्यक पुर्वाधारको तयारी पुरा गरेको छ । यता ब्रोकर कम्पनीले पनि अनलाइन कारोबार सुरु गर्नका लागि तयारी गरेका छन् । अनलाइन कारोबार प्रणालीको युजर एस्पेक्टेन्सी टेस्ट हुन बाँकी रहेको छ । विस्तारै प्रयोगकर्ता अभ्यस्त हुने जाने भएकाले प्रणाली पुर्ण रुपमा सञ्चालमा आउन केही समय लाग्ने उनको भनाई छ ।
सेयरको कारोबारको डेटा राख्नको लागि एक्सेस वल्र्ड टेक्नोलोजी र सिल्भर लाइनिङले सर्भर उपलब्ध गराउने पराजुलीले बताए । उनकाअनुसार ब्रोकरले आइटीको पूर्वाधार नबनाउने र यी दुबै सेवा प्रदायकले प्रदान गरेको सर्भरमा ब्रोकरले क्लाउड बेस्डमा डेटा होस्टिङ गर्नेछन् ।
अनलाइन कारोबार गर्न लगानीकर्ताले युजर र पासवर्ड लिन एक दिन ब्रोकर कार्यलय धाउनु पर्ने पराजुली बताउछन् । “ब्रोकरबाट लिएपछि कार्यलय, घरमा बसेर मोवाइल र ल्यापटमार्फत सेयर खरिदबिक्रीको अर्डर गर्न सकिने छ” उनले भने । युजरनेम र पासवर्ड नलिइ अनलाइन सेयर कारोबार गर्न पाइन्दैन् ।
लामो कसरतपछि नेप्सेले अनलाइन सेयर कारोबार सुरु गर्न लागेको हो । लगानीकर्ताले पहिलादेखि नै सेयर कारोबार माग गर्दै आएका थिए । अनलाइन कारोबार सुरु भएपछि सेयर किन्न र बेच्न लगानीकर्ता ब्रोकर कार्यलय जानु पर्दैन् । यसबाट समयको वचत हुने छ ।
अनलाइन सेयर कारोबारका अतिरित्त धितोपत्र बोर्डले साउन १ गतेदेखि नै नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली र सुचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धित निर्दे्िशका पनि लागु गर्दैछ । यस्तै लागानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ ।