काठमाडौं । नेपालको विद्यत प्रणाली पहिलो पटक २२० केभी क्षमतामा विस्तार भएको छ । १३२ केभी क्षमताबाट स्तरोन्नोती भई २२० केभीमा विस्तार भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत नेपालतर्फको क्षमता बढेर २२० केभीमा पुगेको हो । यो लाइनबाट अब २५० मेगाावट बिजुली प्रवाह हुनेछ । नेपालले २५० मेगावाट बिजुली भारत पठाउने र ल्याउन सक्ने गरी संरचना तयार भएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले जानकारी दिए ।
धनुषाको ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती गर्न शनिबार १६० एमभीए क्षमताको ट्रान्सफर्मर शनिबार साँझ चार्ज गरिएको छ । यस्तै १६० एमभीएको ट्रान्सफर्मर आईतबार चार्ज भएपछि २५० मेगावाट बिजुली प्रवाह हुने उनको भनाई छ । हाल १३२ केभीमा चार्ज गर्दा १४५ मेगावाट बिजुली प्रवाह भइरहेको छ ।
चीनको सीसीपीजीसंग ठेक्का तोडिएपछि आयोजना केही समय अन्यौलमा फसेको थियो । बाँकी काम भारतको टेल्मसले पावर ट्रान्सफरमर आपूर्ति र जडानका लागि एम्कोले सम्पन्न गरेको हो ।
यस्तै बिजुली प्रवाह क्षमता साढे २ सयबाट ५०० मेगावाट पुर्याउन थप ट्रान्सफरमर जडानको काम सुरु हुन लागेको छ । आगामी २ वर्ष भित्र १ हजार मेगावाट बिजुली प्रवाह हुने गरी आवश्य संरचना विस्ताको काम सुरु भइसकेको उनले जानकारी दिए । यसका लागि ठेक्काको काम पनि शुरु भएको छ । अन्तरदेशिय प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती गरेपछि १ हजार मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ ।
ढल्केबर सवस्टेशन २२० केभीमा चार्ज भएपछि भारतको मुज्जफपुरमा पनि सोही प्रणाली सञ्चालन गर्नका लागि प्राधिकरणको प्राविधिक टोली त्यहाँ जाने भएको छ । ४ दिनको काम बाँकी रहेको उनले जानकारी दिए ।
आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बिजुली उत्पादन भएपछि वर्षामा बढी भएको ऊर्जा भारतमा र हिउँदमा आयात हुने गरी ऊर्जा बैंकिङको काम यो प्रसारणलाइनबाट हुने अधिकारीले बताए । ऊर्जा बैकिङका लागि भारत सहमत भइसकेको छ । यो प्रसारणलाइन पुर्ण क्षमतामा सञ्चालन नहुँदा विद्युत प्राधिकरणले वर्षको १ अर्ब ८ करोड रुपैयाँ प्रसारणलाइन शुल्क (ह्लिङ चार्ज) तिर्नुपरेको छ ।