काठमाडौं । वाणिज्य बैंकहरुलाई अमेरिकी डलरमा भन्दा भारतीय रुपैयाँ (भारु) ऋण लिदा ५ प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । भारुमा ऋण लिँदा बैंकलाई विनिमय दरबाट हुन सक्ने नोक्सानीको हेजिङ खर्च ५ प्रतिशत घट्ने भएपछि सस्तो पर्ने देखिएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकलाई भारुमा पनि ऋण लिन बाटो खुला गरेको छ । डलरमा ऋण लिँदा हेजिङ शुल्क ५ प्रतिशतसम्म लाग्ने अनुमान बैंकर्सले गरेका छन् ।
विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएकाले हेजिङ शुल्क ५ प्रतिशतसम्म मोलमोलाई भएको नेपाल बैंकर्स एसोसियसनले जनाएको छ । वैशाखयता डलर मजवुत भई ११० रुपैयाँ पुगेको छ । यसले गर्दा डलरको जोखिम अझै बढाएको बैकर्सको भनाई छ ।
एसोसियसनले डलरमा ऋण लिँदा ब्याज, कमिशन, सेवा शुल्क, व्यवस्थापन खर्च, हेजिङ शुल्क र करसहित लागत १७.६४ प्रतिशत पुग्ने भन्दै संघले नेपालको भन्दा महंगो कर्जा लिन नसकिने भनेपछि राष्ट्र बैंकले भारुमा पनि ऋण लिन सक्ने व्यवस्था गरेको हो । बैंकर्सको भनाईलाई आधार मान्दा भारुमा ऋण लिदा १२ प्रतिशतसम्म ऋण लिन सकिने छ । विद्यमान व्यवस्थामा विदेशी मुद्रामा ऋण ल्याउन व्यवहारिक नभएको भन्दै बैंकर्स संघले आर्थिक विधयेक (बजेट)मा आवश्यक संशोधन गर्न माग गरेको छ ।
बैंकर्सले माग गरेकाले भारुमा ऋण लिन खुला गरेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । नेपाली रुपैयासँग स्थीर विनिमय दर रहेकाले भारुमा ऋण लिदा विनिमय जोखिम नहुने भएकाले डलर भन्दा भारुमा सस्तो पर्ने उनको भनाई छ । “कर, सेवा शुल्क र अन्य शुल्क भारुमा पनि लाग्न सक्छ” उनले भने स्थीर विनिमय दरका कारण हेजिङ लागत भने हुँदैन । त्यसैले भारुमा सस्तो पर्ने देखिएको हो ।”
बैंकर्स संघले असार १० गते अर्थमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै विदेशी मुद्रामा ऋण लिने व्यवस्थालाई प्रोत्साहित गर्न र ऋणको व्याज तथा सेवा शुल्कमा लाग्ने आयकर छुट गर्न माग गरेको छ । बजेट संघीय संसदबाट पारित भएकाले करको दरमा पुनरावलोकन हुने संभावना छैन । यता १७ प्रतिशतभन्दा बढीको लागतमा विदेशी मुद्रामा ऋण लिएर नेपाललाई फाइदा नहुने बैंकर्सहरुले बताएका छन् । ‘नेपाली भित्रको निक्षेपमा ब्याज ११ प्रतिशत पुगेपछि सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याउने भनिएको हो । तर विदेशबाट लिने यस्तो ऋणको लागि १७ प्रतिशत भएपछि कसैलाई पनि फाइदा नहुने बैंकर्सको भनाइ हो ।
राष्ट्र बैंकले तोकेअनुसार लेइवर दरमा ३ प्रतिशतसम्म थप गर्दा वार्षिक व्याजदर ५ प्रतिशत हुनेछ । विदेशबाट ऋण लिनको लागि विचौलियाको काम गर्ने इन्भेष्टमेन्ट बैंकर्स वा पोर्टफोलिया म्यानेजरको सहयोग अनिवार्य आवश्यक हुन्छ । उनीहरुले कुल ऋण रकमको १ देखि २ प्रतिशत सेवा शुल्क लिने बैकर्स संघको तर्क छ ।
विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, औषतमा हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएको तर्कसहित हेजिङ सुविधा दिनेले ५ प्रतिशतसम्म बार्गेनिङ् गरेको संघले जनाएको छ ।
त्यस्तै, विदेशी मुद्रामा प्राप्त ऋणमा भुक्तानी हुने व्याज तथा व्यवस्थापन बापतको एजेन्सी कमिशन भुक्तानीमा आयकर ऐन अनुसार आयकर १५ प्रतिशत लाग्ने छ । यसरी ब्याज, ब्रोकर कमिशन, हेजिङ शुल्क, आयकर र व्यवस्थापन शुल्कसहित जोड्दा विदेशी मुद्रामा लिने ऋणको लागत १७.६४ प्रतिशत देखिने संघको हिसाव छ ।
लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । झण्डै आधा दर्जन बैंकले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग डलरमा ऋण लिनका लागि सम्झौता गरेका छन् । नेपाली बैंकले ७८ अर्ब रुपैयाँसम्म विदेशबाट ऋण लिन पाउने छन् ।