काठमाडौं । साउन १ गते देखि सबै मजदुरहरुको तलब वृद्धि हुँदैछ । सरकारले २ बर्षमा मजदुरहरुको तलब समायोजन गर्ने व्यवस्था अनुसार गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिले एक साता भित्रै नयाँ तलबमान तोक्ने तयारी गरेको हो ।

श्रम मन्त्रालयले सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय न्युनतम पारिश्रमिक निर्धारण गठन गरेको थियो । समितिको बैठक ९ पटकसम्म बसिसकेको छ र अब एक हप्ताभित्रै मजदुरहरुको न्युनतम पारिश्रमिक निर्धारण हुनेछ । ‘हामी छलफलको अन्तिम तर्फ पुगिसकेका छौं, निष्कर्षलाई लिपीवद्ध गर्न मात्रै बाँकी छ’, समितिका सदस्य तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक पौडेलले पनि एक हप्ताभित्रै मजदुरहरुको नयाँ तलबमान तोकिने दावी गरे । ‘हामीले आफ्नो अडान राखेका छौं, उद्योगीहरुले आफ्नो कुरा राख्नु भएको छ, ९ पटक छलफल भएको छ, अब अर्काे निर्णायक छलफल गरेर मजदुरको नयाँ तलबमान सिफारिस हुनेछ’, समिति सदस्य पौडेलले विकासन्युजसँग भने ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रञ्जित आचार्यले भने तलबको सिमाबारे छलफल नभएको बताए । उनले आगामी बैठकमा मजदुर र रोजगार दाताहरुले आ आफ्नो प्रस्तुति मार्फत धारणा राख्ने स्पष्ट पारे । उनले समाजिक सुरक्षामा औपचारिक क्षेत्रको २० प्रतिशत र अनौपचारिक क्षेत्रको ४१.५ प्रतिशत रकम बढ्ने समेत जानकारी दिए । उनले २ बर्षको मूल्य वृद्धिका आधारमा नयाँ तलबमान तोकिने पनि बताए ।
समितिले गर्ने सिफारिसलाई श्रम मन्त्रालयले साउन १ गतेदेखि लागु गर्नेछ । मजुदरहरुको न्युनतम तलबमान २० हुनुपर्ने प्रस्ताव गरिएको सदस्य पौडेलले बताए । त्यसमा उद्योगी व्यवसायीहरुले आ आफ्ना धारणा राखेका छन् । अग्रवालले भने २० हजारको कुरा अनौपचारिक रुपले छलफलमा आएको तर त्यति न्युनतम तलब नतोकिने दावी गरे । ‘छलफलमा बिभिन्न प्रस्तावहरु आएका छन्, हामी ठ्याक्कै रकम यति हुने भन्ने तर्फ गएका छैनौं, केन्द्रिय बैंकको तथ्यांक, आईएलओको रिपोर्ट र नेपाली बजारको आधारमा तलब तोकिन्छ ।’, अग्रवालले भने ।
सरकारले अब निजी क्षेत्रका कामदारहरुको तलब पनि बैंकबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था अघि सारेको छ ।