काठमाडौं । सर्वाेच्च अदालतले महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश जारी गरेको हो । कायम मुकायम प्रधानन्यायधिश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बीमा समिति विरुद्ध परेको मुद्धामा रिट जारी गरेको हो ।
‘महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट दायर गरिएको मुद्धामा बीमा समिति विरुद्ध रिट जारी भएको छ, प्रक्रिया पुर्याएर आएपछि लाइसेन्स दिनु भनिएको छ’, उच्च श्रोतले भन्यो ।
महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वाेच्च अदालतमा २०७४ असोज महिनामा रिट दायर गरेका थिए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा अजेयराज सुमार्गी लगायतको लगानी रहेको छ । बीमा समितिले उपलब्ध गराएको समय सिमा भित्र पूँजी पुर्याउन नसकेपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी प्रक्रियाबाट बाहिरिएको थियो । कम्पनीले पूँजी पुर्याउने समय ४५ दिन थपिदिन आग्रह गर्दै बीमा समितिमा निवेदन दिएको थियो तर समितिले समय थप्न अस्विकार गरिदियो । त्यसपछि कम्पनीले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।