काठमाडौं । यस साता मेगा बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ९ करोड ९७ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। कारोबार र सेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । बैंकको ४ लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ ।
बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता मेगामा झुम्मिएका हुन् । यस्तै सेयर मुल्य सस्तो भएकाले पनि कारोबार बढेको हो ।
यस साता १ अर्ब ७२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २.१४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको ४० लाख २६ हजार ८१० कित्ता सेयरबाट १ अर्ब ६८ करोड ४५ लाख रुपैयाँ छ ।
नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.६६ अंकले बढेर अन्तिम दिन एक हजार २४७.३० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.६५ अंकले बढेर २६१.८१ अंकमा पुगेको छ ।
छ कम्पनीका सेयर सूचीकृत
यस साता रैराङ हाइड्रोपावर कम्पनीको ५६ लाख कित्ता साधारण शेयर, प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।
यस्तै मल्टीपर्पस फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस र सिद्धार्थ बैंक लिमिटेडको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद र बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएका छन् । रासस